
चीनको अर्थतन्त्रलाई कमजोर पार्न भारत हर तरहले प्रयत्नरत छ । त्यसैले भारतमा चिनियाँ उत्पादन बहिस्कारको अभियान नै चलाइएको छ । त्यति मात्र होइन चीनलाई व्यापारिक लाभ नहोस् भनेर भारत सरकारले आफ्नो देशमा हुने आयात र कतिपय लगानीमा समेत कडाइ गरेको छ ।
भारतसँग सिमाना जोडिएका मुलुक भन्दै चीनको नाम नै नलिकिन धेरै क्षेत्रमा चिनियाँ व्यापारलाई निरुत्साहित गर्न खोजेको भारतको चर्चित आइसीआईसीआई बैंकमा चीनको सरकारी बैंकले नै लगानी गर्ने भएको छ ।
सामान्यतयाः वित्तीय क्षेत्रमा हुने वैदेशिक लगानीलाई निकै संवेदनशील मानिन्छ । तर, भारतीय जानकारहरूले चीनबाट हुने यस्तो लगानी राष्ट्र हितका लागि खतरा नहुने टिप्पणी गरिरहेका छन् ।
अघिल्लो साल मार्चमा चीनको केन्द्रीय बैंकले भारतको एचडीएफसीमा आफ्नो लगानी वृद्धि गर्दै एक प्रतिशत भन्दा बढी पुर्याएको थियो । यो विषयमा त्यस बेला निकै ठुलो हंगामा समेत भएको थियो ।
पिपुल्स बैंक अफ चाइनाले म्यूचुअल फण्ड, बीमा कम्पनी सहित ३५७ वटा संस्थागत लगानी गरेको छ । आइसीआइसीआईले गरेको क्वालिफाइड इन्टिच्यूसनल प्लेसमेन्ट (क्यूआरपी)मा गरेको १५ हजार करोडको आव्हानमा चीनले यस्तो लगानी गरेको हो ।
सो बैंकको संस्थागत लगानी माध्यमबाट पुजिँ संकलन गर्ने लक्ष्य अघिल्लो हप्ता नै पुरा भइसकेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो विषयमा भने भारतमा कुनै गम्भीर चर्चा नहुने देखिएको छ । अहिले चीनले अमेरिकामा आफ्नो लगानी खुम्च्याउन बाध्य भएपछि भारत जस्ता देशहरूमा लगानी बढाइरहेको छ ।
भारतले चीनको अर्थतन्त्रलाई कमजोर पार्न र चिनियाँ उत्पादनहरूलाई आफ्नो मुलुकबाट विस्थापित गर्न योजनागत ढंगले काम गरे पनि चीनले कोरोना कहरले थलिएको भारतको बैंकिङ्ग क्षेत्रमा निसंकोच गरेको लगानीलाई कतिपय विश्लेषकहरूले भने पत्थरको जवाफ फूलले दिएको रूपमा व्याख्या गरेका छन् ।
प्रतिक्रिया दिनुहोस