aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

दिनमै हजार नाघे कोरोना संक्रमित, अब यसो गरौं

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, ०३ भदौ २०७७
दिनमै हजार नाघे कोरोना संक्रमित, अब यसो गरौं

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनमै एक हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार १ हजार १६ जनामा संक्रमण पुष्टि गरेको हो।

गत माघ ९ गते पहिलो संक्रमण देखिएयता यो हालसम्मकै सर्वाधिक संक्रमित संख्या हो। यसअघि असार १९ गते ७ सय ४० जना संक्रमित फेला परेका थिए। मंगलबार काठमाडौं उपत्यकामै २ सय ५ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका प्रयोगशालामा १३ हजार ४ सय ६१ पीसीआर परीक्षण गर्दा मंगलबार यो मात्रामा संक्रमित भेटिएको बताए। उनका अनुसार उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित थपिएका छन्।

शुक्रबार मुलुकभर ५ सय ९४ जना संक्रमित थपिएका थिए। त्यस्तै शनिबार ४ सय ६८ र आइतबार ६ सय ४१ जनामा कोरोना पुष्टि भएको थियो। मंगलबारको कोरोना पोजिटिभको वृद्धि ७.५५ प्रतिशत हो।

आईसीयू बेड र भेन्टिलेटर अभाव

संक्रमितको संख्या बढेपछि अस्पतालमा आइसोलेसन बेड पाउन छाडिएको छ। प्रदेश १ मा ४ जना आईसीयूमा उपचाररत छन्। उक्त प्रदेशमा ४४ वटा आईसीयू रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेश २ मा ४८ आईसीयू रहेकामा ४६ जनाको उपचार भइरहेको छ।

बागमतीमा ६ सय ३० आईसीयू बेड छन्। जहाँ ५२ जना उपचाररत छन्। गण्डकीमा १ सय ३७ आईसीयू बेड रहेकोमा ६ जना उपचाररत छन्। प्रदेश ५ मा २९ आईसीयू बेड रहेकोमा १० जनाको उपचार भइरहेको छ। कर्णाली र सुदूरपश्चिम क्षेत्रमा आईसीयूमा संक्रमित छैनन्। यद्यपि, कर्णालीमा ४० र सुदूरपश्चिममा १८ गरी मुलुकभर ९ सय ४६ जना अट्ने आईसीयू बेड छुट्ट्याइएको प्रवक्ता डा. गौेतमले बताए।

सिकिस्त बिरामी बढेको अवस्थामा भेन्टिलेटर अपुग हुने देखिएको छ। अहिले प्रदेश १ मा १९, प्रदेश २ मा १७, बागमतीमा ३ सय ६१, गण्डकीमा ५९, प्रदेश ५ मा १३, कर्णालीमा १७ र सुदूरपश्चिममा १० वटा भेन्टिलेटर उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा भेन्टिलेटरमा राखेर आठ जनाको उपचार भइरहेको छ। डा. गौतमले भने, ‘केही भेन्टिलेटर थप्दै छौं। पाइप लाइनमा छन्।’

संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको संख्या प्रदेश १ मा ९ सय ७८, प्रदेश २ मा २ हजार ७६, बागमतीमा २ हजार ५ सय १४, गण्डकीमा २ सय ७९ छ। प्रदेश ५ मा ७ सय ७९, कर्णालीमा २ सय र सुदूरपश्चिममा ८ सय ३२ जना छन्। यस्तै, प्रदेश १ मा १ सय ९७, प्रदेश २ मा २ हजार ३ सय ४९, बागमतीमा १ सय ११, गण्डकीमा २७ जना होम आइसोलेसनमा छन्। त्यस्तै, प्रदेश ५ मा १ सय ७०, कर्णाली ८ र सुदूरपश्चिममा २५ गरि कुल २ हजार ८ सय ८७ जना छन्।

कति छन् सक्रिय संक्रमित ?

१३ जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित छन्। पाँच सयभन्दा बढी संक्रमित उपचाररत रहेका जिल्ला पाँचवटा छन्। मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा बढी संक्रमित उपचारत छन्।

सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ पुगेको छ। सोमबार मात्र प्रदेशमा १ मा मोरङमा १ सय ८ जना थपिए। झापामा २१, सुनसरीमा ८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश १ को क्वारेन्टाइनमा २ हजार १ सय १५ जना छन्। प्रदेश २ मा पर्सामा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। मंगलबार मात्र १ सय २८ संक्रमित थपिएका छन्। यसबाहेक सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट जिल्लामा संक्रमण बढी देखिएको छ।

यसैगरी बागमतीमा काठमाडौं, चितवन, ललितपुर, भक्तपुर, मकवानपुर बढी प्रभावित देखिएका छन्। गण्डकीमा कास्की, नवलपरासीपूर्व, तनहुँमा बढी प्रभावित छन्। प्रदेश ५ मा सीमावर्ती जिल्लाहरू कपिलवस्तु, रूपन्देही, बाँके, बर्दियामा संक्रमित थपिएका छन्। कर्णालीमा सबैभन्दा बढी प्रभावित दैलेख, सुर्खेत र जुम्ला छन्। सुदूरपश्चिममा डोटी, कैलाली र कञ्चनपुरमा नयाँ संक्रमित थपिने क्रम जारी छ।

प्रदेश १ मा २ हजार १ सय १५ जना क्वारेन्टाइनमा छन्। प्रदेश २ मा १ हजार ४ सय ८३, बागमतीमा ८ सय ९८, गण्डकीमा २ हजार ९ सय ७३, प्रदेश ५ मा २ हजार ९०, कर्णालीमा ६ सय ८१ र सुदूरपश्चिममा ३ हजार ९६ क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनमा अझै १३ हजार ९ सय २६ छन्।

१७ हजार ५ सय ३८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। संक्रमणबाट मुक्त हुने ६२.२ प्रतिशत छ। कोरोना संक्रमणबाट मुक्त भई २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन्।

अब यसो गरौं

विज्ञले संक्रमण न्यूनीकरण र उपचारतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल मास्क र स्यानिटाइजरलाई सर्वसुलभ बनाउनुपर्ने बताउँछन्। भन्छन्, ‘मास्क र स्यानिटाइजर खरिद गर्न नसक्नेलाई सरकारले सुपथ मूल्यमा वितरण गर्नुपर्छ। मास्क नलगाई हिँड्नेलाई कारबाही स्वरूप १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ।’

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम कोरोना संक्रमित र अन्य बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल र स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने बताउँछन्। ‘एउटै अस्पतालमा कोभिड र नन्कोभिड बिरामीलाई उपचार गर्ने हो भने संक्रमण फैलने जोखिम हुन्छ। स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाहमा अप्ठ्यारो हुन्छ’, उनी भन्छन्।

मोलिकुलर एवं माइक्रोबायोलोजी विज्ञ डा. विजय ढकाल पीसीआर परीक्षणको दायरा अझै विस्तार गर्नुपर्ने बताउँछन्। नेपालमा सरकारी र निजी गरी ४० प्रयोगशालाबाट परीक्षण भइरहेको छ। डा. ढकाल भन्छन,

‘शंकास्पद व्यक्तिको स्वाब नमुना संकलन गरी डाइरेक्ट पीसीआर परीक्षण गर्नुपर्छ। यस विधिमा भाइरस निष्क्रिय पारिने भएकोले प्रयोगशालाकर्मीलाई संक्रमणको जोखिम पनि न्यून हुन्छ।’

प्रतिक्रिया दिनुहोस