aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

टिकटकमा ट्राफिक बढेपछि घटाउन थालियो गुणस्तर

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • बुधबार, ०३ भदौ २०७७
टिकटकमा ट्राफिक बढेपछि घटाउन थालियो गुणस्तर

भारत र अमेरिकाले प्रतिबन्ध लगाएसँगै नेपालमा टिकटक प्रयोगकर्ता ह्वात्तै बढेका छन् । टिकटक प्रयोगमा मात्रै नेपाल भित्रिने २५ प्रतिशत ब्यान्डविथ खपत हुन थालेपछि सेवा प्रदायकले टिकटकको ब्यान्डविथ सीमित पार्न थालेका छन् ।

छोटो भिडियो सेयरिङ गर्ने चिनियाँ एप केही सातायता विवाद र चर्चाको केन्द्रमा छ । भारत र अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाका कारण देखाउँदै यो एपलाई प्रतिबन्ध लगाइसकेका छन् ।

केही सातायता टिकटक प्रयोगका लागि मात्रै नेपालमा १ सय ७५ जीबीपीएस ब्यान्डविथ खपत हुन थालेको सेवा प्रदायकको भनाइ छ । यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत हो । लकडाउनपछि नेपालमा ७ सय जीबीपीएस ब्यान्डविथ भित्रिइरहेको छ । जेठ १ सम्म टिकटकले १३ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गरेको सेवा प्रदायकहरूको तथ्यांक छ । कोभिड–१९ का कारण लकडाउन गर्नुअघिसम्म टिकटकका लागि ७ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुन्थ्यो । लकडाउनका बेला बढेर १३ जीबीपीएस पुगेको थियो ।

सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकसहित सबै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको बढी माग हुने साँझको समयमा टिकटकका लागि ब्यान्डविथ सीमित पार्न थालेका छन् । जसका कारण साँझ केही घण्टा टिकटकको भिडियो गुणस्तर घट्ने सेवा प्रदायक बताउँछन् । तर इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) अध्यक्ष भोजराज भट्ट भने सेवा प्रदायकले गुणस्तर नघटाएको दाबी गर्छन् । ‘अन्तर्राष्ट्रिय ब्यान्डविथ सीमित र माग बढी भएकाले गुणस्तर घटेको हुन सक्छ,’ उनी भन्छन्, ‘सेवा प्रदायकले गुणस्तर घटाएका होइनन् ।’

टिकटकले २८ जुलाईदेखि आफ्नो प्रोटोकल एटीटीपीबाट एचटीटीपीएस बनाएपछि सेवा प्रदायक थप समस्यामा परेको भट्टले बताए । कम्प्युटर नेटवर्कमा हुने सञ्चारलाई सुरक्षित पार्न एचटीपीएस प्रोटोकल प्रयोग गरिन्छ । एचटीपीएस प्रोटोकलमा गएपछि टिकटक प्रयोग गर्दा स्वतः अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग भएको उनको भनाइ छ । ‘एचटीपीएस प्रोटोकलमा गएपछि क्यास सर्भर राख्न सम्भव हुन्न,’ उनले भने, ‘यसले गर्दा नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमा चाप परेको हो ।’

इन्टरनेटमा भएको कन्टेन्ट स्थानीय रूपमा भण्डारण गर्ने सर्भरलाई क्यास सर्भर भनिन्छ । ब्यान्डविथको चाप घटाउन र इन्टरनेटको गति बढाउन क्यास सर्भर प्रयोग गरिन्छ । सेवा प्रदायकहरूले अनौपचारिक रूपमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि जानकारी गराएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘टिकटकमा खपत भइरहेको ब्यान्डविथ कसरी कम गर्न सकिन्छ भनेर अध्ययन अघि बढाएका छौं,’ उनले भने, ‘अरू देशको अभ्यास हेरेर यसमा निर्णय लिन्छौं ।’ टिकटकलाई नेपालमै क्यास सर्भर राख्न लगाएर हुन्छ कि प्राधिकरणले रिजोलुसन तोकिएर हुन्छ, ब्यान्डविथको खपतलाई नियमन गर्ने योजना प्राधिकरणको रहेको उनले बताए ।

एचटीटीपीएस प्रोटोकलमा गएपछि टिकटकले अन्य देशमा क्यास सर्भर राख्न अकुमाईको कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) प्रयोग गरिरहेको छ । तर नेपालमा रहेको अकुमाईको सीडीएन लकडाउन अघिदेखि नै पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले यसलाई प्रयोग गर्न नसकिने सेवा प्रदायकहरूको भनाइ छ ।

‘अकुमाईको सीडीएनको क्षमता पनि तत्काल वृद्धि गर्न सकिने छैन,’ इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिक्स) का एक पदाधिकारीले भने, ‘यसको क्षमता बढाउँदासम्म सेवा प्रदायकले धेरै घाटा बेहोर्नुपर्छ ।’ भारत र अमेरिकाले प्रतिबन्ध लगाएसँगै संसारभर टिकटकबारे चर्चा भएपछि प्रयोगकर्ताले उत्सुकता मेटाउन पनि यसलाई प्रयोग गर्न थालेको सेवा प्रदायकको विश्लेषण छ ।

टिकटकले खपत गर्ने ब्यान्डविथ गुगल र फेसबुक प्रयोगका लागि नेपालभित्र खपत हुने अन्तर्राष्ट्रिय ब्यान्डविथभन्दा बढी हो । सेवा प्रदायकहरूका अनुसार गुगलको प्रयोगमा १ सय ५५ जीबीपीएस र फेसबुक प्रयोगका लागि १ सय ५ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस