काठमाडौं । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि सबैभन्दा उच्च संख्यामा गत १९ असारमा ७ सय ४६ जनामा संक्रमण देखिएको थियो । पछिल्लो एक सातायता ४ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
पछिल्लो एक साताको अवधिमा ८० हजार १ सय ६८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म देशभर ५ लाख ४२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ । एक सातालाई आधार मान्दा दैनिक रूपमा ११ हजार ४ सय ५२ जनाको आरटी–पिसिआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।
११८ जना आइसियू र आठ जना भेन्टिलेटरमा
देशभर १ सय २६ जना आइसियू र भेन्टिलेटरमा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ सय १८ जना आइसियूमा र आठ जना भेन्टिलेटरमा उपचाररत छन् ।
जसअन्तर्गत प्रदेश १ मा चार जना, प्रदेश २ मा ४६ जना, बाग्मती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १० जना आइसियूमा उपचाररत छन् ।
यस्तै, बाग्मती प्रदेशमा आठ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २ हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस