aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अमेरिकी डेमोक्र्याटिक पार्टीका जो बाइडन राष्ट्रपतिका उम्मेदवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
अमेरिकी डेमोक्र्याटिक पार्टीका जो बाइडन राष्ट्रपतिका उम्मेदवार

अमेरिका । अमेरिकी डेमोक्र्याटिक पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । 

डेमोक्र्याटिक पार्टीले कोरोना भाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यस पटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ । पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन् । 

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । 

मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिइ सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्वराष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् । यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रसारण गरिएका छन् । 

बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीका शीर्ष नेताहरु पनि रहेका छन् । पूर्वराष्ट्रपति बिल क्लिन्टन र विदेश मन्त्री जोन केरी तथा रिपब्लिकन पार्टीबाट पूर्व विदेश मन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिएका छन् । अहिले ९५ वर्ष पुगेका पूर्वराष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लेटफर्ममा देखा परेका छन् । 

कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नीतिहरुको कटु आलोचना गरेका छन्। राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धुमिल भएको उनीहरुको आरोप छ । 

पूर्व विदेश मन्त्री केरीले भने, ‘डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको र विश्व नै तुलनात्मक रुपमा शान्त थियो । तर अहिले यो सबै दिवालीया भइसक्यो ।’ 

पूर्वराष्ट्रपति बिल क्लिन्टनले ओभल अफिस अहिले अराजक स्थितिमा छ र यसले कमान्ड केन्द्रका रुपमा काम गर्न नसकेको बताए । 

भर्चुअल अधिवेशनमा जर्जियाका सांसद स्टासी अब्राम्स र न्युयोर्ककी सांसद अलेक्जान्ड्रिय ओकासियो–कोर्टेज समेतका केही युवा डेमोक्र्याटलाई पनि सम्बोधन गर्न दिइएको छ । 

रिपब्लिकन पार्टीका तर्फबाट विदेश मन्त्री रहिसक्नुभएका कोलिन पावेलले बाइडेनलाई समर्थन गरे । उनले एरिजोनका पूर्वसिनेटर स्व. जोन मक्केनकी पत्नी सिन्डी मक्केनका साथ देखापरेको थिए । आधा दर्जनभन्दा बढी रिपब्लिकन नेताहरुले बाइडेनलाई समर्थन गर्दै सम्बोधन गरेका थिए । (रासस–एपी) 

प्रतिक्रिया दिनुहोस