aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

आईसीपीमा गोदाम नहुँदा बढ्यो ढुवानी खर्च

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, ०४ भदौ २०७७
आईसीपीमा गोदाम नहुँदा बढ्यो ढुवानी खर्च

वीरगञ्ज । नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्रमा ट्रान्सपोर्ट व्यवसायीको गोदाम नहुँदा नेपाली आयातकर्तालाई ढुवानीमा खर्चको अतिरिक्त भार थपिएको छ । ट्रान्सपोर्टमार्फत रक्सौलमा ल्याइएका मालसामान आईसीपीसम्म लैजान अनपेक्षित खर्च बेहोर्नु परेको आयातकर्ताले बताएका छन् । यसअघि वीरगञ्ज–रक्सौल (इनर्वा) नाकाबाट मालसामान भित्र्याइने गरेकोमा यस्तो व्यापारलाई आईसीपीमा केन्द्रित गरिएको छ । तर, त्यसक्षेत्रमा ट्रान्सपोर्ट कम्पनीका गोदाम नभएपछि आयातकर्तालाई समस्या परेको हो ।

सरकारले आईसीपी सञ्चालनमा आइसकेपछि वीरगञ्ज नाकाबाट हुने सम्पूर्ण कारोबार आईसीपीमै केन्द्रीकृत गर्ने उद्देश्य राखेको छ । अहिले रक्सौलमा आएका मालसामानसमेत आईसीपीमा पुर्‍याएर जाँचपास गरिन्छ । कोरोना संक्रमण नियन्त्रणका सीमानाका बन्द गरिएपछि यसमा अझ कडाइ गरिएको हो ।

अहिले वीरगञ्ज नाकाबाट हुने अधिकांश आयातनिर्यात आईसीपीबाटै हुन्छ । भारतीय आयल निगमको रक्सौल डिपोबाट भित्रिने पेट्रोलियम पदार्थ, क्लिंकर र कोइलामात्रै इनर्वा नाकाबाट भित्रिने गरेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

आईसीपी क्षेत्रमा ट्रान्सपोर्ट कम्पनीका गोदाम नहुँदा रक्सौलमा आइपुगेको मालसामान त्यहाँबाट गाडीमा लोड गरेर आईसीपीसम्म लैजानु परेको आयातकर्ता सुरेश रुंगटाले बताए । अहिले अधिकांश ट्रान्सपोर्टका गोदाम रक्सौलमा छन् । ती कम्पनीले आईसीपीलाई लक्षित गरी त्यसक्षेत्रमा गोदाम व्यवस्थापन गरेका छैनन् ।

रक्सौलबाट वीरगञ्ज करीब १ किलोमीटरको दूरीमा छ । तर, आईसीपीसम्म मालसामान पु¥याउन कम्तीमा २० किलोमीटर अतिरिक्त दूरी तय गर्नुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया बताउँछन् ।

ठूलो परिमाणका सामान सीधै आईसीपीमा गए पनि सानो परिमाणका मालसामान ट्रान्सपोर्टमार्फत ल्याउनुपर्ने र ती कम्पनीले रक्सौलमा ढुवानी दिने भएकाले ढुवानीमा बढी खर्च लागेको संघका महासचिव माधव राजपालले बताए । ‘नाकाको सबै कारोबार आईसीपीमा एकीकृत गर्ने उद्देश्य सकारात्मक भए पनि पूर्वाधारको प्रबन्ध र सहजीकरणमा सरकार उदासीन बन्दा समस्या भयो,’ उनले आर्थिक अभियानसित भने ।

यसअघि रक्सौलमा आएको मालसामान आयातकर्ताले टायर गाढामार्पmत वीरगञ्जसम्म ल्याउने गरेका थिए । आईसीपीमा टायर गाढालाई प्रवेश अनुमति दिइएको छैन ।

वीरगञ्जका इनर्वा नाकाबाट भित्र्याउँदा प्रतिटायर गाढा १ हजार ६ सय रुपैयाँ लाग्नेमा अहिले यो खर्च २ हजार ५ सय रुपैयाँसम्म पुगेको आयातकर्ताको भनाइ छ । ठूलो गाडीमा लोड गर्दा २० हजार रुपैयाँसम्म खर्च परेको आयातकर्ताका एक प्रतिनिधिले बताए । यस्तो ढुवानीमा अदृश्य खर्च २ हजार ५ सय रुपैयाँसम्म आउने ती प्रतिनिधिको दाबी छ । रक्सौलबाट अहिले दैनिक ३५ देखि ४० गाडी यस्तो मालसामान आईसीपीमा जाने उनले बताए ।

रक्सौलबाट गाडीमा मालसामान जान थालेपछि बेरोजगार बनेका टायर गाढाधनीले यसको विरोधमात्र गरेका छैनन्, आयाकर्तासित जबर्जस्ती रकम उठाउने गरेका छन् । उनीहरूले प्रतिगाडी भारू. १ हजारदेखि ५ हजारसम्म असुल्ने गरेको रुंगटाले बताए । ‘एक टायर गाढाबराबर मालसामान गाडीमा लोड गर्दा १ हजारका दरले पैसा दिनु परेको छ । सामानको परिमाण हेरेर यो रकम ५ हजारसम्म पुग्छ,’ रुंगटाले आर्थिक अभियानसित भने, ‘रकम नदिएसम्म मालसामान लोड गर्नै दिँदैनन् । निरन्तर अवरोध गर्न थालेपछि पैसा बुझाउन बाध्य भयौं ।’

विगतमा इनर्वा नाकाबाट १ दिनमा हुने कामका लागि अहिले ३ दिन लाग्ने गरेको छ । रक्सौल बजारमा ढुवानीका साधनलाई दिनमा आवागमनमा रोक लगाइएको छ । राति ढुवानी गर्नुपर्ने बाध्यताका कारण बढी समय लागेको आयातकर्ताले बताए ।

प्रतिक्रिया दिनुहोस