काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि लाग्ने एक साताव्यापी निषेधाज्ञामा तरकारी तथा फलफूलको आपूर्ति तथा वितरणमा कुनै अवरोध नहुने जनाइएको छ तर देशकै ठूलो फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति भने वितरण व्यवस्थामा स्पष्ट नआएको भन्दै अन्योल भएको जनाउँछ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले समिति तरकारी बजार निरन्तर सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा रहेकाले बजारमा भित्रिएको तरकारी उपभोक्तासम्म वितरण गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमार्फत स्पष्ट हुन खोजेको बताए ।
उनले व्यापारी कारोबार गर्न तयार रहेकाले व्यापारीलाई बजारसम्म आउन अवरोध हुनु नहुने र कालीमाटीमा भित्रिएको तरकारी बजार जान रोकतोक पनि हुनु नहुने माग समिति र व्यापारीको रहेको बताए । भट्टराईले तरकारी अत्यावश्यक वस्तु हुँदाहुँदै असाध्यै छिटो सड्ने संवेदनशील वस्तुसमेत भएकाले तरकारी कारोबारमा अवरोध हुन नहुने बताए ।
उहाँले आफूहरूको उद्देश्य किसानले उत्पादन गरेको तरकारी बिनाअवरोध बजारसम्म ल्याएर उपभोक्तासम्म पुगोस् भन्ने रहेको बताए ।
कालीमाटी थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले कोरोना भाइरसका कारण स्वास्थ्य जोखिम हुने भए पनि तरकारी कारोबार गर्न सबै व्यापारी तयार रहेकाले व्यापारीलाई बजारमा आउन जान र कालीमाटीमा भित्रिएको तरकारी बजारमा जाने व्यवस्था गर्न माग गरेको बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तरकारी, फलफूल, दूध, खाद्यान्न, इन्धन, औषधिलगायत अत्यावश्यक वस्तु आपूर्ति र बिक्री वितरणमा कुनै पनि अवरोध नहुने तर स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने बताए।
उनले भने, तरकारी विकास समितिले कालीमाटीमा तरकारी भित्र्याउने र बजार पठाउने मापदण्ड बनाएर आफूहरूलाई जानकारी गराएको खण्डमा कुनै अवरोध नहुने बताउनुभयो । तरकारीको कारोबार गर्नेले भीडभाड नगरी, मास्क लगाउने र सामाजिक दूरीलगायतका विषयमा ख्याल गरेको खण्डमा कुनै रोकावट नहुने उनले जनाए तर अत्यावश्यकीय वस्तु बिक्रीको नाममा भीडभाड गरेको खण्डमा प्रशासन कारबाही गर्न बाध्य हुने र त्यो कार्य नागरिककै हितका लागि हुने दाबी गरे ।
केही दिनयता उपत्यकामा कोरोनाको जोखिम अत्यधिक बढेसँगै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा यस अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने छ । अत्यावश्यकीय सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक
लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले खाद्यान्न, तरकारी तथा अन्य अत्यावश्यकीय वस्तुका पसल खोल्नलाई कुनै समय सीमा नतोकिएको र भीडभाड गर्न भने नपाइने बताए । साथै उनले यस अवधिमा फुटपाथमा राखेर तरकारी तथा फलफूल बिक्री गर्न बन्द गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समितिका अनुसार कालीमाटी बजारमा केही दिनयता दैनिक औसतमा छ सय मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिने गरेको छ । कालीमाटीमा भित्रिएको तरकारीले उपत्यकाको मागको ७५ प्रतिशत धान्ने गरेको छ ।
कालीमाटी बजारमा विशेष गरी उपत्यका तीन जिल्लासहित काभ्रे, धादिङ, चितवन, मकवानपुर र नुवाकोटको तरकारी बढी भित्रिने गरेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस