aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाहरुले यस्तो व्यवस्था गर्ने भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाहरुले यस्तो व्यवस्था गर्ने भए

काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ ।

उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

उनले पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष निर्माण गरिने बताए ।अहिले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा ३ सय बेड र भक्तपुर अस्पतालमा २५ बेडका आइसोलेसन कक्ष छन् । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा भएका सबै क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्न लागिएको छ । उक्त कार्यका लागि भक्तपुरका चारवटै नगरपालिकाको लागत साझेदारीमा आइसोलेसन निर्माण गर्न लागिएको हो ।

उपत्यकामा दैनिक बढ्दै गएको कोरोना भाइरस नियन्त्रण गर्न सबै नगरपालिकाले एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख सहमत छन् ।

प्रतिक्रिया दिनुहोस