aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

'सरकार नै सम्पदा विनास गर्न लाग्यो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
'सरकार नै सम्पदा विनास गर्न लाग्यो'

काठमाडौं । गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्ने गुठी विधेयक तत्काल स्थगन गर्न माग गरिएको छ। सम्पदाविद्, संस्कृतिविद्, शिक्षाविद्लगायत गुठीसँग सरोकार राख्नेले तत्काल विधेयक स्थगत गर्न माग गरेका छन्। उनीहरूले विधेयकका धेरै प्रावधान सम्पदा, संस्कृति नास गर्ने किसिमका भएको आरोप लगाएका छन्।

‘यो विधेयक पास भयो भने सम्पदाको विनास गर्छ’, सम्पदाविद् डा. गोविन्द टण्डनले भने, ‘सरकारले गुठीको मर्म नै नबुझि विधेयक आएको छ, यसलाई तत्काल स्थगन गर्नुपर्छ।’ विधेयकले मठमन्दिर स्थापनामा बन्देज लगाउन सक्ने प्रावधानसमेत राखेको उनले बताए। विधेयकले मूर्त अमूर्त रूपमा गुठीको जग्गा संरक्षण होइन नास गर्ने देखिएको उनको भनाइ थियो।

सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीसम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गराएकी छन्। राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सर्वसाधारणको हित कायम गर्न तथा गुठीको जग्गा संरक्षण, उपयोग र व्यवस्थापन गर्नुका साथ गुठी विकास, सञ्चालन र व्यवस्थापन गर्न आवश्यक व्यवस्था गर्न भन्दै उनले विधेयक संसद्मा दर्ता गराएकी हुन्।

उता गुठी, सम्पदासँग सम्बन्धित सरोकारवालासँग कुनै छलफल नै गरी विधेयक संसद्मा पेस गरेको भन्दै विरोध भएको छ। गुठी, गुठीयारदेखि गुठीसम्बन्धी विज्ञले विधेयक रोक्न माग गरेका छन्। शिक्षाविद् एवं गुठी पुचः का अध्यक्ष केदारभक्त माथेमाले हतार गरेर विधेयक पारित नगर्न आग्रह गरेका छन्। ‘हतार गरेर लाग्नु हुन्न’, उनले भने, ‘यो विधेयक पास भए सम्पदा र संस्कृतिमा आघात पुग्छ।’ उनले सम्बन्धित सरोकारवालासँग छलफल र सल्लाह गरेर मात्र कानुन बनाउनु पर्ने बताए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस