aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

गाँउ गाँउमा इन्टरनेट पुग्दै, प्राधिकरण ब्रोडब्यान्ड इन्टरनेटमा पाँच अर्ब २७ करोड खर्च गर्दै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०६ भदौ २०७७
गाँउ गाँउमा इन्टरनेट पुग्दै, प्राधिकरण ब्रोडब्यान्ड इन्टरनेटमा पाँच अर्ब २७ करोड खर्च गर्दै

काठमाडौं । देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी साइटमा इन्टरनेट जडान सम्पन्न भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र इन्टरनेट जडान गर्न सञ्चालित यो परियोजनाअन्तर्गत साउन मसान्तसम्म सम्झौता भएका १४ हजार ४६८ साइटमध्ये १० हजार ३६८ मा इन्टरनेट जडान भएको छ ।

जडान भएको इन्टरनेटमध्ये ४६६ वटा स्थानीय निकायको कार्यालय, ३ हजार ९१० वडा कार्यालय, तीन हजार २२० माध्यमिक विद्यालय र दुई हजार ७७२ स्वास्थ्य संस्था रहेका छन् । सम्झौता भएका प्याकेजमध्ये अहिलेसम्म ७१.६६ प्रतिशत स्थानमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतको करिब पाँच अर्ब २७ करोड रुपियाँ लगानीमा देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, सामुदायिक भवन तथा स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र २ वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउने गरी इन्टरनेटसमेत जडान गर्ने परियोजना सुरु गरेको थियो । अनुमति पत्र सेवा प्रदायकलाई प्याकेजअनुसार इन्टरनेट जडानको जिम्मेवारी दिएर यो काम भइरहेको छ ।

प्राधिकरणले यो परियोजनालाई कुल १८ वटा प्याकेजमा विभाजन गरेर इन्टरनेट जडानको काम अघि बढाएको छ । अहिलेसम्म १७ वटा प्याकेजमा मात्र सम्झौता भएको छ । 

प्रतिक्रिया दिनुहोस