काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले खाडीका श्रमिकलाई पीडा माथी पीडा थपने काम गरेको बताएका छन् । शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञेप्ती जारी गर्दै सरकारले चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको आरोप लगाएका हुन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको बताएका हुन् । आरोप लगाएका हुन् ।
६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नु न्यायोचित नभएको पनि कांग्रेसले बताएको छ । ‘सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?,’ प्रवक्ता शर्माले प्रश्न गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘गएको असार १ गते सोमबार सम्मानित सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो । न्यायाधीशहरु आनन्द मोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता देखाएन । आदेशको दुई महिनापछि पुनः महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको छ ।’
त्यस्तै मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्धार उडानको अनुमति दिएकाले नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक नेपाल आइपुग्न महिनौं लाग्ने पनि शर्माले बताएका छन् । ‘उद्धनरको यो कछुवा गतिभित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन,’ विज्ञप्तिमा भनिएको छ ।
श्रमिकलाई ‘चार्टर उडानको महँगो टिकट, होटल क्वारेन्टाइनको खर्च, पीसीआर परीक्षणको खर्च र गाउँ पुग्ने यातायात खर्च पनि आफै बेहोर्नू’ भन्ने सरकारको निर्णय न्यायोचित नभएको कांग्रेसको भनाइ छ । ‘अनुकुल अवस्थामा देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को ब्यवहार ?’
रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरेर निःशुल्क उद्वार गर्न कांग्रेसले सरकारसँग पुनः माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस