aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

कता जाँदै छ समाज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७

दृष्टान्त १

काठमाडौं बानेश्वरको मिलन चोकस्थित लर्ड बुद्ध बोइज एन्ड गल्र्स होस्टलमा बस्ने सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई निकाल्न दबाब दिँदै स्थानीयवासीले गरे। उनीहरूले डेढ घण्टा होस्टल घेराउ गर्दै सञ्चालक रोहित रानालाई हातखुट्टा भाँच्नेसम्म चेतावनी दिए। बानेश्वर वृत्तबाट प्रहरी टोली आएपछि उनीहरू पछि हटे।

दृष्टान्त २

रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेलाई कोरोना संक्रमण भयो। जनप्रतिनिधिसहित छिमेकीले उनलाई ढाडस दिनुपथ्र्यो। तर संक्रमितको घर भन्दै ब्यानर टाँग्न प्रयत्न गरे।

दृष्टान्त ३

विराटनगरका डा. ज्ञानेन्द्रमान सिंह कार्कीमा कोरोना संक्रमण पुष्टिपछि परिवारका सदस्यलाई हाउजिङमा बस्न असहज भयो। हाउजिङमा बस्ने अन्यले अवरोध गर्न खोजे।

दृष्टान्त ४

सुनसरीको इटहरी–५ का २७ वर्षीय युवकलाई अस्पतालबाट डिस्चार्जपछि घर जाँदा छिमेकीले बस्न दिएनन्। उनी भन्छन्, ‘रोगले भन्दा समाजले मार्ने रहेछ।’

दृष्टान्त ५

नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारमा तल्लीन चिकित्सक दुर्व्यवहारमा परे। उनीहरूविरुद्ध नारा नै घन्कियो।

दृष्टान्त ६

चितवनकी एक नर्समा कोरोना संक्रमण पुष्टिपछि उनको परिवारलाई छिमेकीले तनाव दिए। घरवरिपरि डोरी टाँग्न वा पोस्टर टाँस्न दबाब दिए।

कोरोना संक्रमणको अवस्था, जटिलता र यसको प्रकृतिबारे थाहा नपाउँदा हाम्रै समाजमा भएका दुर्व्यवहारका केही दृष्टान्त हुन्, यी। त्यो पनि सहरी क्षेत्रमै यस्ता घटना भएको देखिन्छ। नागरिकको जीवनरक्षा गर्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी हुन् वा अन्य, उनीहरूप्रति सद्भाव राख्नुको साटो हेलापूर्ण व्यवहार भइरहेको छ। यस्ता घटनाले गम्भीर प्रश्न खडा गरेको छ, हाम्रो समाज कता जाँदै छ ?  सहिष्णु भनिएको नेपाली समाजमै यस्ता घटना बढ्न थालेपछि विज्ञहरू चिन्तित बनेका छन्।

स्वास्थ्यकर्मीको मेहनतका कारण नेपालमा कोरोना संक्रमण र मृत्युदर अन्य मुलुकको तुलनामा न्यून देखिएको छ। अन्य मुलुकमा स्वास्थ्यकर्मीको सम्मान भइरहँदा नेपालमा भने शृंखलाबद्ध रूपमा दुर्व्यवहारका घटना देखिन थालेको छ।

कोरोना देखिएसँगै स्वास्थ्यकर्मीहरू दिनरात नभनी संक्रमितको उपचारमा खटिएका छन्। थुप्रै स्वास्थ्यकर्मीले महिनौंदेखि परिवारसँग भेट गर्नै पाएका छैनन्। कतिपय त संक्रमितको उपचारकै क्रममा संक्रमणमा परेका छन्।

संक्रमित भएका चिकित्सकलगायत स्वास्थ्यकर्मीको संख्या १ सय ३० पुगेको छ। संक्रमितमध्ये ८२ जना नर्स छन्। १९ जना काठमाडौंमा रहेको नेपाल चिकित्सक संघले जनाएको छ।

‘आफ्नै ज्यान जोखिममा राखेर संक्रमितको उपचार गरेका स्वास्थ्यकर्मी आफैं आईसीयूमा उपचाररत छन्’, संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘अरू मुलुकमा बाजा बजाएर, दियो बालेर, थपडी बजाएर स्वास्थ्यकर्मीको मनोबल बढाइँदै छ। हाम्रोमा भने त्यसको ठीक उल्टो स्वास्थ्यकर्मी नै दुर्व्यवहारमा परिरहेका छन्।’

संक्रमणविहीन, संक्रमित र उपचारपछि संक्रमणमुक्त स्वास्थ्यकर्मीप्रतिको दृष्टिकोण नकारात्मक देखिएको छ। जस्तोसुकै व्यवहार भए पनि संक्रमणबाट मुक्त स्वास्थ्यकर्मी फेरि संक्रमितको उपचारमा दत्तचित्त भएर लागेकै छन्।

‘संक्रमणपछि काठमाडौं गएर उपचार गराएँ’, संक्रमणमुक्त प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कार्की भन्छन्, ‘अरू संक्रमितले मजस्तो उपचारका लागि अन्यत्र जानु नपरोस् भनेर आफैंले कोभिड अस्पताल सञ्चालन गरिरहेको छु।’ बालरोग विशेषज्ञ डा. बगाले त प्लाज्मा दान दिनै तयार छन्।

संघका अध्यक्ष डा. कार्कीका अनुसार उपचारमा संलग्न स्वास्थ्यकर्मी दिनहुँजसो संक्रमणमा परिरहेका छन्। ‘बिरामीको सेवामा खटिँदा आफैं संक्रमित हुनु परेको बेला टोल, समाजबाट भइरहेको दुर्व्यवहारले थप दुःखी बनाउँछ’, उनी भन्छन्, ‘तर, त्यो सबै भुलेर धेरै स्वास्थ्यकर्मी तनावबीच पनि निरन्तर सेवा दिइरहेका छन्। समाजको व्यवहारले स्वास्थ्यकर्मीलाई नै मनोपरामर्श दिनुपर्ने अवस्था आएको छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम स्वास्थ्यकर्मीलगायत कोरोना संक्रमित जो कोहीलाई दुर्व्यवहार गर्नेविरुद्ध कारबाही चलाइने बताउँछन्। ‘दुर्व्यवहारका घटना बढ्दै गए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउँछौं’, प्रवक्ता डा. गौतम भन्छन्। अन्नपुर्ण पोष्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस