बेँसीशहर । लमजुङको बेँसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिसलाई आक्रमण गर्ने चितुवा मारिएको छ ।
चितुवाले बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मरेको हो । बालकलाई आक्रमण गर्न खोजेपछि थापा चितुवासँग भिडेका थिए । भिड्ने क्रममा चितुवाको आक्रमणबाट थापा घाइते भएका छन् भने थापाले प्रहार गरेको हँसियाको चोटका कारण चितुवा मरेको छ ।
चितुवासँग भिड्दा घाइते भएका थापालाई उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा लगिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
शर्माका अनुसार विहान ६ बजेतिर चितुवा गाउँ पसेको थियो । मारिएको चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको शर्माले बताए । ‘वन ऐन अनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ,’ प्रजिअ शर्माले भने ।
प्रतिक्रिया दिनुहोस