aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
काेराेना अत्याधिक फैलँदै

२४ घण्टामा प्रदेश नं २ मा मात्रै दुईको मृत्यु, ३९० नयाँ सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
२४ घण्टामा प्रदेश नं २ मा मात्रै दुईको मृत्यु, ३९० नयाँ सङ्क्रमित

काठमाडाैं । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा सो अवधिमा पर्साबाट ५६ वर्षीया एक महिला र सर्लाहीबाट ३१ वर्षीया एक महिला गरी दुई महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।
 
योसमेत गरी प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ । यसका साथै, पछिल्लो २४ घण्टामा धनुषामा ६० जना, पर्सामा १३९ जना, बारामा ३९ जना, महोत्तरीमा ३४ जना, रौतहटमा नौं जना, सप्तरीमा चार जना, सर्लाहीमा ९१ जना र सिरहामा १४ जना गरी ३९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी गए । योसमेत गरी यस प्रदेशमा  कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ९१० पुगेको छ ।

प्रदेश नं १ मा ७० सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । आज  थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा नौ र प्रदेश बाहिरका १ जना कोरोनाबाट सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा आज ४२ जनामा सङ्क्रमित पुष्टि भएको छ । जसमा  १८ महिला र २४ पुरुष छन् । 

मोरङको बुढीगंगा चार महिला एक पुरुष, केराबारीमा दुई र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार जिल्ला बाहिर झापाको कमल गाउँपालिकामा एक महिला दुई पुरुष, झापा गाउँपालिकामा एक पुरुष, विर्तामोडमा दुई महिला, कनकाईमा एक महिला, गौरादहमा दुई पुरुष र स्थानीय तह नखुलेका एक पुरुष, सुनसरीको इटहरीका एक महिला आठ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६५९ पुगेको छ । 

प्रदेश नं १ मा आज २५ जना निको भएर घर फर्किएका छन् । कोभिड–१९ आइसोलेशन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आइसोलेशन केन्द्र, चौदण्डीगढी उदयपुरबाट तीन जना डिस्चार्ज भएका हुन् । हालसम्ममा प्रदेशमा एक हजार २६७ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८०५ पीसीआर परीक्षण भइ आजसम्म कूल ७७ हजार १५६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ जनामा गरेको पीसीआर परीक्षणबाट ८१८ नयाँ सङ्क्रमित देखिएका हुन् । उनीहरुमध्ये २२० महिला र ५९८ पुरुष छन् ।  हालसम्म ६ लाख चार हजार ४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप १६६ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १६६, लतिपुरका १२ र  भक्तपुरका २८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ६३१ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार ४१४ जना रहेका छन् ।

थप तीनको मृत्यु

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षीय एक पुरुष, पर्षाको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ । यो मृत्युदर सून्य दशमलव ४७ प्रतिशत हो ।
     
अहिले होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका सङ्क्रमितको सङख्या आठ हजार ७२४ रहेको छ । आज देशभर सक्रिय सङ्क्रमितो सङ्ख्या जम्मा १३ हजार १५५ रहेको छ । संस्थागत आइसोलेसनमा नौ हजार २१२ जना रहेका छन् । होम आइसोलेशनमा तीन हजार ९४३ जना छन् । आइसियुमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् ।

जिल्लागत ५०० भन्दा बढि कोरोनाका सङ्क्रमित रहेका ६ जिल्लामा मोरङ, पर्षा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ रहेका छन् । सङ्क्रमित सून्य रहेका जिल्ला मुस्ताङ, म्याग्दी र हुम्लालगायत पाँच जिल्ला छन् । काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकोले सङ्क्रमण समुदायमा गयो भने नियन्त्रण गर्न नसिकने भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गरी मास्क लगाउन, साबुन पानीले हात धुन र स्यनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले कभ्यालेसन प्लाज्मा थेरापी शुरु गरेको जानकारी गराए । उनका अनुसार हालसम्म देशभरका १५ अस्पतालमा यसको अनुसन्धान शुरु गरिएको छ । ती अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नायायणी अस्पताल, काठमाडौँ विश्व विद्यालय चिकित्सा विज्ञान कलेज, भरतपुर अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, भेरी प्रदेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, ग्राण्डी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी बल अस्पताल रहेका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को जोखिम नियन्त्रण गर्दै विश्वभरका क्रियाकलापलाई अवलम्बन गर्दै जानअगाडि बढ्न हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान अफ कोभिड–१९ कम्युनिकेसन स्टार्टेजी स्वीकृत गरी आजदेखि कार्यान्वयमा ल्याइएको प्रवक्ता प्राडा गौतमले जानकारी दिए । उनले आन्तरिक र बाह्य सञ्चारलाई व्यवस्थित गर्ने, सबै तहका सरकारबीच प्रभावकारी सञ्चार समयमै पारदर्शीताका साथ समाचार प्रवाह गर्न यसले सहयोग पुग्ने बताउनुभयो । कोभिडको जानकारी लिन रणनीतिक सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस