aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

लकडाउनको बहानामा टमाटरमा कालोबजारी

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ०८ भदौ २०७७
लकडाउनको बहानामा टमाटरमा कालोबजारी

धरान । लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट टमाटर ल्याउने गरिएको छ ।

किसानको खेतमै गएर थोक व्यापारीहरूले टमाटर खरीद गरेर ल्याउने गरे पनि महँगो मूल्य तिरेर ल्याएको भन्दै उपभोक्तासँग थोकबजारमा दोब्बर मूल्य लिने गरेको पाइएको हो । किसानका अनुसार थोक व्यापारीहरूले धनकुटाको पात्लेखोला क्षेत्रका खेतमै गएर प्रतिकेजी रू। ३० देखि रू। ३५ सम्ममा खरीद गर्ने गरेका छन् भने धनकुटाको अन्य क्षेत्रमा किसानको खेतबाट प्रतिकेजी रू। ६५ देखि रू। ७० मा विक्री भइरहेको छ ।

सोही टमाटर धरान आइपुग्दा प्रतिकेजी थोकमूल्य रू। ११० सम्म पुग्ने गरेको छ भने उपभोक्ताले प्रतिकेजी रू। १६० मा खरीद गर्न पर्ने बाध्यता रहेको छ । थोक व्यापारीले प्रतिकेजी झण्डै दोब्बर मुनाफा लिइरहेका छन् ।

धनकुटा–९ बेलहारास्थित जलपादेवी कृषि सहकारीका व्यवस्थापक सचिव टंक रोईरालाले उत्पादन कम भएकाले विगतका वर्षहरू भन्दा केही महँगो भए पनि थोक मूल्यमा त्यो रूपमा मूल्य निधाएरण हुनु गलत भएको दाबी गरे । बेलहारा क्षेत्रबाट मात्रै दैनिक ५० क्विन्टल टमाटर विक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस