aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीलाई अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीलाई अनुमति

एजेन्सी । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडीए) ले आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति प्रदान गरेको छ । आइतबार एफडीएले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा जोखिमभन्दा फाइदा नै बढी भएकाले अनुमति दिएको उल्लेख गरेको छ ।

एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइसहेको छ ।

आइतबार ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले प्लाज्मा थेरापीले अनुमति पाउनु ‘ऐतिहासिक’ भएको बताए । कोरोना भाइरसलाई पुन: एक पटक ‘चिनियाँ भाइरस’ संज्ञा दिँदै उनले भने, ‘आज म वास्तवमै चिनियाँ भाइरसविरुद्धको हाम्रो लडाइँको एउटा ऐतिहासिक घोषणा गर्दैछु जसले अनगिन्ती जीवनहरु बचाउनेछ । आजको कदमले कोरोना संक्रमितको उपचारमा पहुँच बढाउनेछ ।’

गत हप्ता राष्ट्रपति ट्रम्पले ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’ का लागि अनुमति नदिएर राजनीति गरिरहेको बताएका थिए । आइतबार टम्पले प्लाज्मा थेरापीबाट कोरोनाबाट हुने मृत्युदर ३५ प्रतिशतसम्म कम भएको दाबी गरे । साथै उनले कोरोना भाइरसको संक्रमणपछि निको भएका व्यक्तिहरुलाई प्लाज्मा दान गर्न पनि आग्रह गरेका छन् । त्यस्तै उनले कोरोनाविरुद्धको खोप पनि चाँडै नै निर्माण हुने बताए ।

अमेरिकाले कोरोना भाइरसको खोप जतिसक्दो छिटो बनाउने ट्रम्पको भनाइ छ।

प्रतिक्रिया दिनुहोस