aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

किम जोङ उन कोमामा रहेको दक्षिण कोरियाको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
किम जोङ उन कोमामा रहेको दक्षिण कोरियाको दाबी

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन फेरि कोमामा भएको हल्ला फैलिएको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् ।

वास्तवमा पछिल्लो केही समयदेखि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी र दाबी गरिएको थियो तर उनी अचानक सबैको अगाडि स्वस्थ रुपमा देखापरे । अब दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वास्थ्यबारे पुनः चर्चा सुरु हुन थालेको हो ।

डेली मेलको एक रिपोर्ट अनुसार स्थानीय मिडियासँग कुराकानी गर्दै दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञले किम जोङ उन कोमामा भएको तर उनको जीवन अन्त्य भने नभएको बताएका छन् ।

उनका अनुसार किमका ३३ वर्षीया बहिनी किम यो–जोङ दाइका केही शक्तिसहित सर्वोच्च पदमा रहेकी छिन् । ‘अहिले नै एक पूर्ण उत्तराधिकार संरचनाको गठन नगरिएका कारण उनकी बहिनीलाई अगाडि सारिएको हो,’ उनले भने ।

किमले बिहिबार सरकारी कार्यक्रममा आफ्नो उपस्थिती जनाएको तस्बिर उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेता पनि चाङले यस्तो दाबी गरेका हुन् । यद्यपि, रोयटर्सका अनुसार उक्त तस्बिर स्वतन्त्ररुपमा पुष्टि हुन नसक्ने बताएको छ ।

अघिल्लो हप्ता किम जोङ उनले आफ्नी बहिनीलाई सत्ताको दोस्रो स्थान प्रदान गरेको दाबी गरिएको थियो । उत्तर कोरियाको अर्थव्यवस्थाको विषयमा किम जोङ उन असाध्यै तनावमा भएको र यसैकारण उनले अमेरिकासँग सम्बन्ध सुधार्ने महत्वपूर्ण जिम्मेवारी आफ्नी बहिनीलाई दिएको खबर प्रकाशित भएको थियो ।

यद्यपी, दक्षिण कोरियाले गरेको यस्तो दाबी यसअघि गलत साबित भएका थिए । 

प्रतिक्रिया दिनुहोस