
एजेन्सी । अमेरिकी दबाबमा नपर्ने चीनले घोषणा गरेको छ । चीन अमेरिका व्यापार युद्धले चर्को रुप लिइरहेका बेला चीनले यस्तो घोषणा गरेको हो । आइतबार श्वेतपत्र जारी गर्दै चीनले अमेरिकी दबाबमा नपर्ने बताएको हो ।
'चीन-अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा चीनको अडान' विषयक श्वेतपत्रमार्फत चीनले अमेरिकासँग कुनै पनि हालतमा नझुक्ने र अन्तसम्म सामना गर्ने बताएको छ । दुई देशबीचको व्यापारिक तनावका कारण पुरै विश्व चिन्तित बनेको छ । यहि बेला चीनले श्वेतपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
अमेरिकाले बिना कारण विभिन्न आरोप लगाउँदै आएको भन्दै चीनले भनेको छ, 'हामी त्यस्तो आरोपको सामना गर्दै अगाडि बढ्ने छौं । कुनै पनि हालतमा अमेरिकाको दबाबमा पर्ने छैनौं ।'
यो दस्तावेज चीनको उपवाणिज्य मन्त्री बाङ्ग शौवेनले अमेरिकी उत्पादनमा बिजिङद्वारा प्रतिक्रियास्वरुप लगाएको शुल्क लागू भएको भोलिपल्ट आएको हो । संसारकै सबैभन्दा बढी अर्थव्यवस्थाको बीच व्यापार युद्ध चलिरहेको हो ।
पछिल्लो महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिजिङमा २ खर्ब डलरको चिनियाँ सामानमा अतिरिक्त शुल्क लगाएका थिए । दुई देशबीच व्यापारिक मतभेदलाई अन्त्य गर्न भन्दै व्यापारिक वार्ता चलिरहेका बेला ट्रम्पले अचानक यो कदम चालेका थिए । त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमा शुल्क बढाएको थियो ।
छलफल चलिरहेकै बेला अमेरिकाले नै चीनमाथि सम्झौता तोडेको आरोप लगाएको थियो । उक्त सम्झौतामा चीन अडिग रहेको भन्दै अमेरिकी आरोपको खण्डन गरेको हो । 'अमेरिकी दबावको रणनीति तथा बदनाम गराउने मनसाय हास्यासपद छ । चीन आफ्नो हितको मामिलामा प्रमुख सिद्धान्तमा कहिले पनि सम्झौता गर्दैन्' श्वेतपत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस