
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण (रेमिट्यान्स)आप्रवाहमा ०.५ प्रतिशतले मात्र कमी आएको छ । आब २०७६/७७मा ८७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्ष भने विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई ९८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय १५.० प्रतिशतले बढेको थियो।
प्रतिक्रिया दिनुहोस