aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सबै अस्पताल अब ‘कोभिड’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ भदौ २०७७
सबै अस्पताल अब ‘कोभिड’

काठमाडौं । कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार, यसअघि वर्गिकरण गरिएका लेभल वान, टू र थ्री लगायत सबै अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको छ।

नियमित सेवा प्रवाह भइरहेका सबै किसिमका अस्पतालले कोरोना संक्रमित बिरामीलाई सेवा पनि दिनुपर्ने निर्णय गरिएको छ। ‘यसअघि गरिएको निर्णयलाई खारेज गरिएको छ। केन्द्रीय, शिक्षण, प्रादेशिक, जिल्ला अस्पताल र निजी गरि सबैलाई कोभिड अस्पतालमा परिणत गरिएको छ’, उनले भने। यस निर्णयसँगै मुलुकभरका सबैखाले अस्पतालले कोरोना संक्रमितको उपचार गर्नेछन्। कोभिड र ननकोभिड दुबै सेवा छुट्टाछुट्टै रुपमा व्यवस्थापन गर्नुपर्ने छ।

काठमाडौं उपत्यकालगायत तराईका जिल्लाहरुमा कोरोना पोजेटिभ केसहरु बढ्दै गएको छ। सिकिस्त बिरामीले अस्पतालमा शैया नपाउने र लक्षण विहिनले शैयामा बस्ने प्रबृत्ति देखिएको छ। अबदेखि लक्षण भएका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गर्ने निधो गरिएको प्रवक्ता डा। गौतमले जानकारी दिए। ‘लक्षणविहिन संक्रमितलाई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा पठाउनु पर्ने हुन्छ। लक्षण भएकाहरुलाई मात्र अस्पतालमा भर्ना गर्न सूचना पठाइसकिएको छ’, डा। गौतमले भने। हाल आईसीयूमा १ सय ३८ जना कोरोना संक्रमित उपचाररत छन्। भेन्टिलेटरमा १५ जना छन्। अन्नपूर्ण दैनिकबाट 

प्रतिक्रिया दिनुहोस