काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक आज बस्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञा र अहिलेसम्मको स्थितिबारे समीक्षा गर्न संयुक्त बैठक बस्न लागेको हो ।
बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्ने बताइएको छ । सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि एक हप्ता बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।
कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भदौ १० गतेसम्म जारी गरिएको निषेधाज्ञा अझैं लम्बिने देखिएको छ। यस बीच उपत्यकाभित्रका तीनै जिल्लामा देखिएको संक्रमण फैलिने दरमा कमी आएको छैन। त्यसैले पनि निषेधाज्ञा अझैं लम्बाउने निष्कषमा स्थानीय निकायका प्रमुखदेखि जनप्रतिनिधिसम्म पुगेका छन्।
सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस