
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा नेपालीहरूले ५३ अर्ब १३ करोड रुपैयाँ विदेश घुमेर सिध्याएका छन् । उक्त रकम नेपालीले वैदेशिक भ्रमणमा खर्च गरेका हुन् । गत आवमा नेपालीले भ्रमका क्रममा गरेको खर्च अघिल्लो वर्षको तुलनामा ४०.९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक भ्रमण शीर्षकमा नेपालीले ८९ अर्ब ९० करोड खर्च गरेका थिए । यसअघि वर्षीनै बढ्दै गएको भ्रमण खर्च यस वर्ष कोभिडका कारण घटेको हो । कोभिडका कारण भएको बन्दाबन्दीले वैदेशिक भ्रमणमा जान नसकेपछि भ्रमण खर्च समेत संकुचन भएको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार सो अवधिमा नेपालबाट विभिन्न मुलुकमा (आउट बोन) पर्यटकीय भ्रमण लगायत अन्य भ्रमणकै लागि जानेहरूबाट सो खर्च भएको हो । हाल नेपालीहरूको थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र युरोपलगायत देशमा टुर प्याकेज नै बनाएर भ्रमण गर्ने क्रम बढेको छ । बन्दाबन्दीकै बीच यातायातबाट विदेशिने रकम भने त्यति घट्न सकेन ।
गत आर्थिक वर्षमा यातायात शीर्षकमा ६६ अर्ब १५ करोड खर्च भएको छ । गत आवमा भएको खर्च अघिल्लो आवकोभन्दा आधाले नै कम हो । सो शीर्षकमा अघिल्लो आवमा ६५ अर्ब ८२ करोड खर्च भएको थियो । अघिल्लो आवको तुलनामा गएको आवमा कम रकम बाहिरिएको थियो ।
अध्ययन र भ्रमणका लागि विदेश जाने नेपालीबाट हुने खर्चमा केही कमी आएको छ । गत आर्थिक वर्षको यही अवधिको भन्दा यस वर्ष विदेशिने नेपालीले गर्ने खर्चमा कमी आएको राष्ट्र बैंकको एक तथ्यांकमा उल्लेख गरिएको छ ।
कोभिडको बढ्दो प्रकोपसँगै विदेशमा अध्ययन गर्न जानेले गर्ने खर्चमा पनि संकुचन आएको छ । अघिल्लो आवमा ४६ अर्ब ३२ करोड वैदेशिक शिक्षाको लागि नेपालबाट रकम बाहिरिएको थियो । गत आवमा २५ अर्ब ८१ करोडमात्रै खर्च भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा विदेशमा अध्ययन लागि बाहिरिने रकम ४४.३ प्रतिशतले घटेको हो । उच्च शिक्षाका लागि नेपालीले अस्ट्रेलिया, क्यनाडा, अमेरिका, भारत, चीन, कोरिया, जापान लगायत देशलाई प्राथमिकतामा राख्ने गरेका छन् ।
केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा गत आवमा सुरुदेखि त्यस्तो खर्च घटेको र पछिल्लो समय कोभिडका कारण अझ घट्न सहयोग गरेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको र राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएकाले विदेश घुमघाम र अध्ययनका लागि बाहिरिने नेपालीको खर्च घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । कलेज र विश्वविद्यालयमा पढ्न जान रोकिएका कारण यो रकम बचत भएको हो। राष्ट्र बैंकले बन्दाबन्दी शुरु हुनुअगाडि नै विदेशी मुद्राको सञ्चिति घट्न नदिन डलर सटही सुविधा २५सय डलरबाट घटाएर १५ सय डलर बनाएको थियो ।
पछिल्लो समय सरकारले कर्मचारीको विदेश भ्रमणमा समेत कडाइ गरेको छ । कर्मचारीले विदेश भ्रमणमा जानको लागि सम्बन्धित मातहतका मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ । सो कारण पनि विदेशमा अध्ययन र भ्रमण गर्न जानेको संख्या केही घटेको हो ।
प्रतिक्रिया दिनुहोस