aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आखिर वारेन वफेट पनि लोभिए सुनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
आखिर वारेन वफेट पनि लोभिए सुनमा

अहिले सुनको मूल्य विश्वव्यापिरुपमा निकै उच्च छ । पछिल्ला केही हप्तामा मात्र लगभग २ सय डलर प्रतिऔँसले सुनको मूल्यमा वृद्धि भएको छ । यसबिच अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड समेत बनायो । जुन रेकर्ड यसअघि सन् २०११ को अगस्ट महिनामा बनेको थियो । 

हुन त सुनको मूल्य सधैँ अस्थिर रहने नै गर्छ । यसमा उतारचढाव भइरहन्छ । तथापि, लगातार सुनको मूल्य बढ्नुले धातु बजारमा नयाँ ढंगको लगानी आकर्षित गरेको देखिन्छ । 

महँगा धातुका कारोबारीहरू आगामी दिनहरूमा सुनको मूल्य अझै उचालिने घोषणा गरिरहेका छन् । सायद, विश्वका ठुला लगानीकर्ताहरू सुनको कारोबारमा आकर्षित भएका कारण पनि यस्ता अनुमानहरू गरिएका हुन सक्छन् । 

हुन पनि कुनै समय सुनको कुनै उपादेयता छैन भन्दै सुनमा लगानी गर्नेहरुलाइ जिस्क्याउने शेयर बजारको बादशाह उपाधिधारी वारेन बफेटले समेत सुनमा लगानी गर्न थालेका छन् । हालै मात्र उनले जेपी मोरगन र वेल्स फार्गो बैंकको शेयर बिक्री गरेर ५६३ मिलियन डलरको सुन खरिद गरेका छन् । 

त्यसो त अहिले सुनमा लगानी गर्ने बफेट मात्रै होइनन् । विश्वका धेरै केन्द्रीय बैंकहरुले नै सुनलाई तरल पूजीँका रूपमा भण्डारण गर्दै धमाधम नोट छापिरहेका छन् । 

उदाहरणको रूपमा टर्कीको केन्द्रीय बैंकलाई हेर्न सकिन्छ । त्यहाँ केन्द्रीय बैंकको स्वतन्त्रतालाई राष्ट्रपतिले आफ्नो अधीनस्थ पारेर लिएका छन् । अनि, बैंकहरुलाई ब्याजदर घटाउन लगाएर धमाधम नोट छाप्ने काम भइरहेको छ । यसका लागि ठुलो मात्रामा सुनलाई तरल पुँजीका रूपमा त्यहाँ राखिएको छ । 

पश्चिममा मात्र होइन एसियाका बलिया अर्थतन्त्रहरू भएका मुलुक, चीन, दक्षिण कोरियामा समेत मानिसहरू सुन खरिद गर्न आकर्षित भएका देखिएका छन्  । उता, युरोपको जर्मनीमा पनि सुन प्रतिको आकर्षण ह्वात्तै बढेको देखिन्छ । 

जे होस, सुनको मूल्य अहिलेको अवस्थामा बढ्नु पछाडी अमेरिकी डलर प्रति मानिसहरूको विश्वास घट्नु त छदै छ त्यसबाहेक बैंकिङ क्षेत्रमा गरिएको लगानीलाई पूजीँ बजारका ठुला खेलाडीहरूले अविश्वास गरेका कारण पनि सुनमा उनीहरूको आकर्षण गर्दा सुनको मूल्य आकासिएको हो । त्यसै भएर नै हुनुपर्छ वारेन वफेट समेत सुनमा लगानी गर्न लोभिएका हुन् । 

प्रतिक्रिया दिनुहोस