
अमेरिका र चीनबिचको तनावले फेरि नयाँ उचाइ लिएको छ । चिनियाँ हवाई क्षेत्रमा प्रवेश गरेर अमेरिकी जासुसी विमानले सैन्य गतिविधि रेकर्ड गरेपछि सम्बन्ध अझ बढी चिस्सिएको हो ।
अमेरिकाको पछिल्लो हर्कतपछि चीनले धेरै नै कडा प्रतिक्रिया जनाएको छ । उसले भनेको छ, ‘यदि अमेरिकाले हामीलाई यसै गरी उत्तेजित गराइरह्यो भने परिणाम जे पनि हुनसक्छ ।’
दुई दिन अघि उत्तरी चीनमा त्यहाँका सेनाहरूले ड्रिल गरिरहेको घटनालाई अमेरिकाको दुई वटा एडवास्ड यु—२ जासुसी विमानले सुटुक्क रेकर्ड गरेका थिए । निकै उचाइमा उडान भर्दै अमेरिकी विमानले आफ्ना गतिविधिलाई रेकर्ड गरेको घटना चीनले ती विमानहरू फर्किसकेपछि मात्र थाहा पाएको थियो ।
त्यसपछि चिनियाँ विदेशमन्त्रीले अमेरिका विरुद्ध दिएको आक्रोशपुर्ण र कडा अभिव्यतिबारे प्रतिक्रिया दिँदै अमेरिकाले भनेको छ, ‘हामीले कुनै पनि प्रकारका नियम उल्लङ्घन गरेका छैनौँ ।’
त्यसो त अघिल्लो महिना पनि अमेरिकाका दुई वटा लडाकु विमानले चीनको औद्योगिक सहर साङ्घाइको ७५ किलोमिटरको दुरीमा लामो समयसम्म उडान गरेको देखिएको थियो ।
पछिल्लो घटनालाई चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु क्विनले अमेरिकाको तर्फबाट भएको गम्भीर र आपत्तिजनक सैनिक जासुसी बताएका छन् । त्यसपछि चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले अमेरिकाको यो हर्कत धेरै नै खतरनाक रहेको बताएका छन् । उनीहरुले यदि फेरिपनि अमेरिका चिनियाँ इलाकामा प्रवेश गर्यो भने निश्चितरुपमा सैन्य झडप हुने चेतावनी दिएका छन् ।
अमेरिकाले भने आफूहरूले यसअघि पनि हिन्द महासागर क्षेत्रमा यस प्रकारका सैन्य उडान र गतिविधि गर्दै आएकोमा अब पनि सो नरोक्ने बताएको छ । अमेरिकाको यो प्रतिक्रियासँगै कुनै पनि बेला चीन र अमेरिका बिच सैन्य झडप हुने सम्भावना रहेको भन्दै जानकारहरू चिन्तित छन् ।
प्रतिक्रिया दिनुहोस