aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सङ्क्रमितमध्ये १८ प्रतिशत स्वास्थ्यकर्मी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
सङ्क्रमितमध्ये १८ प्रतिशत स्वास्थ्यकर्मी

भरतपुर । दैनिक वढ्दै गएको कोरोना सङ्क्रमणमा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बढी प्रभावित भएका छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार रातिसम्म आएको सङ्क्रमितको तथ्याङ्कमा १८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ४७१ मध्ये ८५ जना स्वास्थ्यकर्मी छन् । उहाँहरु जिल्लाका विभिन्न अस्पतालमा कार्यरत छन् । 

सोमध्ये सबैभन्दा बढी वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका २६, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजका १६÷१६ जना छन् । भरतपुर अस्पतालका १५, नारायणी सामुदायिक अस्पतालका तीन, स्थानीय  क्लिनिकका तीन र सेन्ट्रल अस्पतालका दुई जना रहेका छन् ।

त्यस्तै रत्ननगर बकुलहर अस्पताल, मौलाकालिका अस्पताल, मनकामना अस्पताल र बाहिरी जिल्लाका सरकारी अस्पतालमा काम गर्ने एकएक जना स्वास्थ्यकर्मी रहेको पौडेलले जानकारी दिए । 

हालसम्मको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी सङ्क्रमित भरतपुर महनगरका २८४, माडीका ५०, रत्ननगरका ३८, राप्तीका ७५, खैरहनीका १७, कालिका नगरपालिकाका पाँच र इच्छाकामना गाउँपालिकाका दुई जना रहेका छन् । सङ्क्रमित स्वास्थ्यकर्मी र अरु बिरामी सरकारी अस्पताल, दुई मेडिकल कलेजका अइसोलेसन र घरमै रहेका छन् । 

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी बिरामीबाट अस्पतालमा सङ्क्रमण आएको र स्वास्थ्यकर्मीमा फैलिएको बताउछन् । बिरामीमा सङ्क्रमण नहोला भन्ने अनुमान गर्दै स्वास्थ्यकर्मीले सुरक्षाकवज प्रयोग नगर्दा पनि सङ्क्रमण फैलिएको उनको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस