उदयपुर । छिमेकी मुलुक भारततर्फ लैजाँदै गरिएको प्रतिवन्धित लागुऔषध गाँजासहित दुई जना कारोवारीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा परिचालन भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रतिवन्धित ८४ केजी गाँजासहित ताप्लि गाउँपालिका १ ओख्लेका २९ बर्षिय पुष्पबहादुर मगर र वडानं ३ इनामेका ४३ बर्षिय रामबहादुर तामाङ्ग पक्राउ गरेको हो ।
बुधबार उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीका सन्तबहादुर तामाङ्गको घरबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले विहीबार जिल्ला प्रहरी कार्यालय परिषरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । ताप्लि गाउँपालिकाको वडानं १ र ३ बाट संकलन गरी ल्याइएको चार वोरा गाँजा प्रहरीले तामाङ्गको बाख्राको खोरमा लुकाएर राखेको अवश्थामा वरामद गरेको एसपी भिमबहादुर दाहाले बताए ।
पक्राउ परेका उनीहरुको प्रारम्भिक वयानमा भारतसँग पुग्ने गरी गिरोहको सेटिङ्ग मिलाएर ल्याइएको खुलेको छ । ताप्लिबाट चार जनालाई बोकाएर तामाङ्गको वाख्राको खोरमा ल्याएर राख्ने र त्यहाँबाट सिरहाको टोलीलाई बुझाएर भारत निकासी गर्ने योजना रहेको एसपी दाहालले बताए ।
‘गाँजा ओसारपसारको ठुलो गिरोह रहेको खुलेको छ,’ उनले भने, ‘केहि दिनमै नतिजा ल्याउने गरी सशस्त्र र नेपाल प्रहरीको युनिटले अनुसन्धान गरिरहेको छ ।’ वयानमा ताप्लिबाट उदयपुरगढी हुदै सिरहाको बलान खोला नजिकबाट भारत पुग्ने गरेको खुलेकोछ ।
पक्राउ परेकाहरुले गाउँमै प्रतिकेजी तीन देखि पाँच हजार लगाएर खरिद गरेको बताएकाछन् । उनीहरुले सिरहासम्म पुर्याउँदा प्रतिकेजी १५ देखि २० हजार मुल्यमा विक्री गर्ने गरेको बताएकाछन् ।
बोकेर ल्याएका चारै जना त्यहाँ छोडेर घरतर्फ फर्किएको उनले बताए । पक्राउ परेका पुष्प बोलेरो चालक हुन् भने रामबहादुर खसी व्यापारी हुन् । रामबहादुर खसी व्यापार गर्ने निहुँमा गाउँ पसेर गाँजा संकलन गर्ने र सिरहाका व्यक्तिलाई विक्री गर्ने कारोवारी रहेको प्रहरीको भनाई छ ।
वयानकाक्रममा उनले यो दोश्रोपटक लागुऔषध ओसारपसार गरेको स्वीकार गरेको एसपी दाहालले बताए । उनले आफु सरुवा भई आए यता अहिलेसम्मकै ठुलो परिणामको लागुऔषध रहेको बताएका छन् । उनले भने, ‘म आएपछि लागुऔषध सम्बन्धी थालिएको ‘विग अप्रेशन’ मा यो अहिलेसम्मकै ठुलो सफलता हो ।’
एसपी दाहालले लागुऔषध कारोवारी र सेवनकर्ता न्युनिकरणका लागि विशेष योजना बनाएर लागि परेको बताए । उनले सेवनकर्ता मात्र नभई मुख्य कारोवारी नाईके नै पक्राउ गर्न प्रहरी सफल भएको बताए । यधपि चुपलागेर बस्न सक्ने अबश्था नरहेको बताउँदै उनले अझ निगरानीलाई बढाउने बताए ।
प्रतिक्रिया दिनुहोस