aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

हेम्जा केन्द्रविन्दू भएर भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
हेम्जा केन्द्रविन्दू भएर भूकम्प

कास्की । कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो । भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयवासी लक्ष्मी पाण्डेले जानकारी दिए । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । 

के भएकाे थियाे २०७२ वैशाख १२ को भूकम्पमा ?

२०७२ साल वैशाख १२ गते शनिबार मध्यान्हको करिब १२ बज्न लागेको थियो। अचानक जमिन हल्लियो । ठूलो झट्का आयो । भूकम्प आयो । करिब एक मिनेटसम्म धर्ती निरन्तर हल्लिरह्यो । गोरखाको बारपार्क केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प आयो। एक मिनेटमा नेपालको अवस्था कहाली लाग्दो बनाइदियो। नेपालको मध्य भाग बढी प्रभावित हुन पुग्यो । गोरखा, धादिङ, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर लगायतका १४ जिल्ला बढी प्रभावित हुन पुगे ।

भूकम्पका पराकम्पहरू निरन्तर रूपमा आइरहे। धर्ती हल्लेको हल्यै भयो। १९९० सालको ठूलो भूकम्प भोग्ने भन्दा सुन्ने व्यक्तिहरू धेरै थिए । भोग्नु र सुन्नुमा धेरै फरक हुन्छ। अहिलेका पुस्ताले सुनेका मात्र थिए। साना–साना भूकम्प आए पनि ती भूकम्पले त्यति ठूलो मानविय तथा भौतिक क्षती पुर्‍याएको थिएन। तर २०७२ सालको भूकम्पले ठूलो जनधनको क्षति भयो ।

भूकम्पले ढुंगा र माटोले बनेका घरहरू पूर्णरूपमा ध्वस्त भए भने ऐतिहासिक  धरोहर, मठ, मन्दिर, पुरातात्त्विक सम्पदाको अस्तित्व नै मेटियो। नेपालको धरोहरको रूपमा रहेको धरहरा पूर्ण रूपमा क्षति हुन पुग्यो ।

भौतिक संरचना तहसनहस भए। कति मान्छे घरमै पुरिएर मरे। कति हिँड्दा हिँड्दै। धनी एकाएक सडकमा आइपुगे । अधिकांश घरबारविहीन भए । पालमुनि दैनिकी काट्न बाध्य भए । न खानको राम्रो व्यवस्था न सुत्नकै। कति व्यक्तिलाई आफन्त गुमाएको पीडा थियो । कति बेपत्ता, कति घाइते थिए । सुगम स्थानका भूकम्प पीडितले राहत चाँडै पाए तर दुर्गम स्थानकाले राहत पाउन कति समय कुर्नु पर्‍यो । खुला आकाशमा भोकै बस्नु परेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, तथा विभिन्न संघ संस्था उद्धार कार्यमा खटेका थिए।  दर्दनाक अवस्था थियो । सबै नेपालीको मन रोएको थियो । अस्पताल मृतकका लास र घाइतेले भरिएको थियो । एम्बुलेन्स तथा हेलिकप्टरबाट विभिन्न जिल्लाका घाइतेहरू काठमाडौं ल्याइएका थिए ।

भूकम्पका कारण ८ हजार ६ सय ३३ जनाको मृत्यु भयो भने करिब २२ हजार व्यक्तिहरू घाइते भए । ती प्रभावित जिल्लामा बसोबास गर्ने व्यक्तिहरूले नराम्रोसँग मानविय तथा भौतिक क्षति व्योहोर्नुपर्‍यो ।

प्रतिक्रिया दिनुहोस