
`हाट´मा इया प्रत्यय लागेर `हटिया´ शब्द व्युत्पति भएको हो। यसको मतलब निर्धारित दिनमा गाउँशहरमा लाग्ने सानोतिनो बजार भन्ने बुझिन्छ। देशका अधिकांश पालिका र नगरपालिकाहरूमा हप्ताको कुनै न कुनै दिन हटिया लाग्ने चलन छ । कुनैमा हप्ताको एक दिन त कुनैमा हप्ताको दुई दिन तीन दिन मिलाएर लाग्ने/लगाउने प्रचलन छ । सबै हटियाहरूमा विभिन्न पेसामा संलग्न किसान, मजदुर, कर्मचारी, तथा विद्यार्थीका साथसाथै उद्योगपति, डाक्टर, इन्जिनियर जस्ता जो जे जे पेसामा आबद्ध भए तापनि सौदा गर्न नआई सुखै छैन ।
प्रायः हटिया लाग्ने स्थानहरू बढ्दो सहरीकरणले साँगुरिँदै गएको देखिन्छ। अझ कुनै त अतिक्रमणका कारण साँगुरो ठाउँमा कोचिएर लाग्नुपर्ने अवस्थामा पुगेका छन् जसले गर्दा क्रेता र बिक्रेता दुवैलाई असुविधा भएको देखिन्छ । त्यसका अतिरिक्त अधिकांश हटियाहरूमा "हटिया घर" को व्यवस्थापन छैन । पसल राख्नका लागि केही कटेराको व्यवस्थापन गरिएको देखिएता पनि त्यसलाई अझै व्यवस्थित बनाउन आवश्यक देखिन्छ। प्रत्येक पालिकामा बजार व्यवस्थापन समिति ,उद्योग वाणिज्य सङ्घ र स्वयं पालिकाहरूको पहलमा हटिया सञ्चालन स्थलको आधुनिकीकरण गरिनु आवश्यक छ ।
धेरै जसो हाटबजारमा अव्यवस्थाले साँगुरोमा झन् साँगुरो भएको देखिन्छ । त्यहीँ किराना पसल,त्यहीँ सब्जी पसल,त्यहीँ मासु पसल,त्यहीँ लुगा पसलहरूको अव्यवस्थित रखाइको कारण धेरै समस्या परेको देखिन्छ ।
हाटबजारमा प्रयोग हुने नापतौल प्रणालीलाई पनि रूपान्तरण गर्नु आवश्यक छ। ग्रामीण भेगमा मात्र होइन सहर बजारकै केही हाटबजारहरूसम्म समेत यो विषयमा अझै पर्याप्त ध्यान पुगेको छैन । यतिसम्म कि कुनै कुनै पसलेहरूले त काठको डन्डा भएको तराजु र पाटे ढक प्रयोग गर्ने गरेको पाइन्छ । त्यति मात्र होइन, पासाङ नमिलाएका तराजुहरूमा ढुङ्गा र इँटाका टुक्राहरू राखेर नाप्ने गरेको देख्दा हामी डिजिटल युगमा छौँ भन्न समेत लाज लाग्ने अवस्था छ।
नेपालका हाटबजारमा चोरीको समस्या निक्कै देखिन्छ। विशेष गरी तराई-मधेसका ग्रामीण हाटबजारहरू भर्न टाढा-टाढाबाट आउने ग्राहकहरूले प्रयोग गर्ने सवारी साधन जस्तै: साइकल, मोटर साइकल, रिक्सा, अटो-रिक्सा जस्ता अनेक सवारी साधनहरूको पार्किङको उचित व्यवस्था नहुँदा चोरी हुने गरेको गुनासो सुनिन्छ । कतैकतै त ती साधनहरू अव्यवस्थित रखाइका कारण लडेर बालबच्चाहरूलाई किच्ने गरेको गुनासो पनि सुनिन्छ । त्यति मात्र होइन घरबाट पैसा गनेर सौदा गर्न हिँडेको मान्छेको कहाँ कतिखेर कुन भिडमा कसले पाकेट मारिदिने हो, थाहा हुँदैन ।
विश्व बजारलाई आधुनिकताले खप्लक्कै छोपी सकेको बेला नेपाली गाउँ सहरहरूलाई भौगोलिक अध्ययन अनुसन्धान र सर्वेक्षणबिना असारे विकाशको रनाहा लाग्दै गरेको भए तापनि केही संरचनाहरू भरपर्दा देखिँदैनन् । प्रायः यहाँको सहरीकरणलाई हेर्ने हो भने विश्वका सहरहरूको तुलनामा नेपालका सहरहरूले वास्तवमै सहर हुन अझै निकै मेहनत गर्नुपर्ने देखिन्छ।
बजार भित्र हुने अन्य विकृतिको त झन् कुरा गरी साध्ये छैन। किराना पसलहरू मिसावटले ग्रसित छन् । भाँडापसलहरु प्लास्टिकमय छन् । हार्डवेयर पसल, पुस्तक पसल, फेन्सी स्टोर, कपडा पसल, सुन पसल तथा अन्य जे जस्ता पसलहरू भए तापनि छरपस्ट र भद्रगोलको रोगले गाँजेको छ। बजारलाई शोभायमान बनाउन पसलको रखाइमा ध्यान दिनुपर्छ ।
"एकै खालका पसलहरू एकैतिर" नीति लिएर सम्बन्धित निकायहरूले आफ्नो क्षेत्रभित्रका बजारहरूको कुशलता पूर्वक व्यवस्थापन गर्ने हो भने "हाम्रा सहर, राम्रा सहर" हुन्थे । अनि सहरको शोभा पनि बढ्थ्यो । तर, त्यहीँ कुखुरा काट्ने ठाउँ छ, त्यही नजिकै सिसा पसल छ, त्यहीँ कोल्ड स्टोर छ, त्यहीँ नजिकै फर्निचर उद्योग चल्छ...भने सहरभित्रको बजार व्यवस्थापन के कस्तो छ र भविष्य कता जाँदै छ भन्ने कुराको एउटा भद्रगोल तस्बिर देखाउँछ।
चीनको मुहानबाट सुरु कोरोना महामारीले विश्वलाई आतङ्कित तुल्यायो । लाखौँलाख मानिसहरूको ज्यान लियो । विश्व अर्थतन्त्रलाई नराम्ररी धक्का दियो। यसले मानव सभ्यता मै धावा बोल्न खोजेर त्राहित्राही बनायो। उद्योगधन्दा, कलकारखाना,सम्पूर्ण पेसा बजार व्यवसायलाई नराम्ररी प्रभावित बनायो । विश्वका महाशक्ति राष्ट्रहरूको नाडी र धड्कन छामेर वास्तविकता उजागर गर्यो । सारा वैज्ञानिकहरूलाई मूर्ख झैँ बनायो । चिकित्सा विज्ञानलाई चुनौती दियो ।
यसबाट जोगिन विश्वले एकै चोटि बन्दाबन्दीको सामना गर्नुपर्यो । मान्छेहरू जो जहाँ थियो त्यहीँ थुनिएर कैदी झैँ बस्नुपर्ने अवस्था पैदा भयो । महामारी सङ्क्रमणका डरले हाटबजारहरू लागेनन् । लामो समयको बन्दाबन्दीले उपभोक्ता, क्रेता-विक्रेता र वस्तु उत्पादक कलकारखाना उद्योगधन्दालाई नियमितता दिनका लागि संरचनागत फेरबदलको महसुस गरायो। त्यसमा नेपाली हाटबजारहरू पनि व्यवस्थापन अनिवार्य बन्यो । क्रेता विक्रेताले वस्तु खरिदबिक्री गर्दा स्वास्थ्यलाई विशेष ख्यालगरी बजार व्यवस्थापन गरिनुपर्ने भयो। वस्तु उत्पादक कलकारखाना या व्यावसायीहरुले आफ्ना सामानहरु जीवाणुमुक्त भएको जनाउँदिन प्याक गर्नुपर्ने जरुरी भयो ।
अन्त्यमा, त्यसै त नेपालको हाटबजार व्यवस्थापन अरू सहर बजारको तुलनामा कमजोर थियो ।त्यसमा पनि कोभिड-19 पछि थपिएको आर्थिक सङ्कट, उपभोग्य वस्तुबाट रोग सङ्क्रमणको जोखिम नहुने विश्वसनीय हाटबजारको व्यवस्थापन गरी सञ्चालन गरिनुपर्छ । उपभोक्ताले वस्तु विनिमय गर्दा या क्रेताविक्रेताबीचको सामाजिक दुरीलाई व्यवस्थापन गरी सम्बन्धित निकायले बजारको पुनर्संरचना गर्नु आवश्यक छ। आधुनिक प्रविधिमैत्री पसल र दोकानहरूको मोडालिटीसहितको नयाँ संरचनाको आवश्यकता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस