aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
टिप्पणी

किन अर्थमन्त्री खतिवडा बन्दैछन् यसरी वेपर्वाह ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
किन अर्थमन्त्री खतिवडा बन्दैछन् यसरी वेपर्वाह ?

कोरोना संक्रमण रोकथामका नाममा चैत्र ११ यता सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ । सम्पूर्ण देशवासीहरू मुलुकको गिर्दो अर्थतन्त्र र स्वयम् आफ्नै व्यापार व्यवसाय कहिले माथि नउठ्ने गरी संकटमा पर्दै गरेको महसुस गरिरहेका छन् । 

तर, विडम्बना देशको अर्थ प्रणालीलाई कसरी सुदृढ गर्ने भन्ने अभिभारा बोकेका अर्थमन्त्रीमा भने अनौठो तरिकाको उदासीनता यस बेला देखिएको छ । अगाडी उभिएको समस्याको पहाड नदेखेझैँ गरी उनी अभिव्यक्ति दिइरहेका छन् । संकट समाधानका लागि राज्यले के गर्दै छ भन्ने जान्न उत्सुक आम नेपालीलाई उनी जवाफ दिइरहेका छन्—अर्थतन्त्र सकारात्मक दिशामा छ । 

अर्थमन्त्रीको स्पष्टोक्ति कसैगरी पत्यार लाग्दो छैन । अर्थतन्त्रलाई सकारात्मक पार्ने सबै गतिविधि ठप्प छ  । तर, प्रचलित नेपाली उखान ‘भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ’ भनेझैँ हाम्रा अर्थमन्त्री पनि भदौ लाग्ने बित्तिकै अर्थतन्त्र सकारात्मक भएको देख्छन् । चाहे वस्तुगत परिवेश जति सुकै प्रतिकुल किन नहोस् । 

त्यसै यसो भनिएको होइन । गत साल भदौ १२ गते अर्थात् आजको ठिक एक वर्ष अघि पनि उनले यसै भनेका थिए । त्यस बेला प्रतिनिधि सभाका सदस्यहरूले देशको आर्थिक स्थितिबारे उठाएको प्रश्नको जवाफ दिँदै उनले भनेका थिए, ‘मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ ।’ अहिले एक वर्षपछि सबै क्षेत्रमा अकल्पनीय उथलपुथल भएको र आर्थिक धरोहरका सबै खम्बाहरू भाँचिएकाबेला पनि उनी भन्दै छन्, ‘मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ ।’ 

यसरी सबै आशा, भरोसा र विश्वासका आधारहरू कमजोर बन्दै गएका बेला समेत देशको अर्थतन्त्रलाई सकारात्मक नै देख्ने विद्वान अर्थमन्त्री डा. युवराज खतिवडाको आँखा माथि शङ्का गर्नु पक्कै पनि अतिशयोक्ति नहोला । किनकि भदौ ५ गते उनले विश्व बैंकका उपाध्यक्ष हार्टबिग सेफरसँगको भर्चुअल छलफलका क्रममा जेजस्तो अभिव्यक्ति दिए त्यो वास्तवमै उदेकलाग्दो छ । 

उनले भनेका छन्, ‘कोरोनाका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको भए पनि आर्थिक परिसूचक राम्रो छ ।’ यही वाक्य मात्रै केलाऊँ । नेपाल भ्रमण वर्ष २०२० को तयारी स्वरूप आँखा चिम्लिएर लगानी गरेको पर्यटन क्षेत्र व्यापारमा प्रवेश गर्न नपाउँदै थला पर्‍यो । पर्यटन उद्योगमा लगानी गर्ने बैंकहरु सो लगानीबारे चिन्तित छन् । 

आयात प्रतिस्थापन गर्ने सरकारको रणनीतिक योजनासहित स्थापित केही उत्पादनमूलक उद्योगहरू पूर्णरुपमा बन्द छन् । साना तथा मझौला लगानीका उद्योग व्यवसाय त सायदै अब सञ्चालनमा आउलान् किनकि उनीहरूले जेनतेन तयार गरेको संरचना र अन्य व्यावसायिक आधारहरू लगभग ध्वस्त भइसकेको छ । 

मिल मेसिनरीहरुमा खिया लागिसकेको छ । सार्वजनिक यातायातका साधनहरू ग्यारेजबाट निकाल्नसक्ने अवस्थामा व्यावसायिहरु छैनन् । बैंककको ब्याजको किस्ताले फेरि लय समात्ने कुनै सम्भावना साना तथा मझौला व्यावसायीहरुले देखेका छैनन् । कृषि क्षेत्रलाई सबैले विकल्पको रूपमा छान्दै छन् । तर, त्यो कति जोखिमपूर्ण छ भन्ने कुराको आँकलन कसैले गरेको छैन । विगतमा किसानले सडकमा दूध पोखेको र तरकारी बारीमा ट्याक्टर कुदाएको घटनालाई कसैले स्मरण गरेका छैनन् । जबसम्म त्यो अवस्था आउनुका कारणहरूको निदान खोजिँदैन तबसम्म कृषिमा लगानी गर्न उत्साहित हुनु वा अभिप्रेरित गर्नु दुबै गलत ठहर्नेमा दुई मत हुनै सक्दैन । 

स्थिति यस्तो छ । तर, हाम्रा विद्धान अर्थमन्त्री देशको अर्थतन्त्र सकारात्मक देख्छन् । उनी अहिलेको अवस्थालाई भारतले नाकाबन्दी लगाएको बेला उत्पन्न भएको संकटसँग तुलना गर्दै छन् जस्तो देखिन्छ । उदेक यो कुरामा लागेको हो की हाम्रा अर्थमन्त्रीले कसरी यो परिवेशको गम्भीरतालाई बुझ्न सकेनन् ? सामुन्ने खडा संकटको पहाडलाई कडा चट्टानयुक्त विकट भिरका रूपमा देख्नुको सट्टा किन उनी त्यसलाई सुन्दर र रमणीय थुम्को जस्तो मात्र मानिरहेका छन् ? उनका ज्ञानको कमी हो या कुनै भ्रम ? यसको उत्तर स्वयम् उनी बाहेक अरूले दिन सक्दैनन् । 

गज्जब लागेको कुरा चाहिँ यो हा की देशको केन्द्रीय बैंकका प्रमुख बनिसकेका, अन्तर्राष्ट्रिय अर्थराजनितिका समेत जानकार मानिएका अर्थतन्त्रका हरेक पाटा र पक्षलाई राम्रोसँग केलाउन सक्ने भनेर विश्वास गरिइएका हाम्रा अर्थमन्त्री डा. खतिवडाले लकडाउनका कारण वैदेशिक व्यापारमा आएको कमिले गर्दा भएको शोदान्तर बचतलाई कसरी अर्थतन्त्रका सकारात्मक संकेतका रूपमा बुझे ? बैंकमा अधिक तरलताका कारण अब कसरी घाटा धान्ने भन्ने चिन्तामा बैंकरहरु रहेका बेला अर्थमन्त्री भने मुलुकको वित्तीय क्षेत्र सुदृढ रहेको टिप्पणी गरिरहेका छन् । 

राजस्व संकलन पूर्व घोषित लक्ष्यमा नपुग्ने निस्चत भएको छ । मुलुक चालु खर्च नै धान्न नसक्नेमा चिन्तित छ । बाह्य ऋण तथा अनुदान प्राप्त हुनसक्ने दातृ निकाय तथा राष्ट्रहरू आफै आर्थिक संकटसँग जुधिरहेका छन् । आन्तरिक ऋण उठाएर दैनिक खर्च धान्न पुग्ने अवस्थाका देश पुगेको छ । तर, अर्थमन्त्री भने फेरि पनि मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको देखिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस