aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

एटीएमका पच्चिस वर्ष: कोरोनामा कारोबार उच्च

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १४ भदौ २०७७
एटीएमका पच्चिस वर्ष: कोरोनामा कारोबार उच्च

काठमाडौं । नेपालमा एटीएम मेसिन सञ्चालनमा ल्याइएको २५ वर्ष भएको छ । २०५२ मा हिमालयन बैंकले एटीएम बुथ सञ्चालन गरी नेपालको बैंकिङ क्षेत्रमा डिजिटल युगको नयाँ अध्याय थपेको थियो तर कार्डको प्रयोग भने त्यसअघि नै नबिल बैंकले २०४७ मा नै थालेको थियो ।

एटीएम ल्याइएको सुरुवाती वर्षमा यसको कारोबार नगन्य थियो । प्रयोगकर्तामा ज्ञान पनि थिएन तर त्यो विस्तार भई सन् २०१८ मा प्रतिएक लाख जनसङ्ख्याका लागि करिब १३.७८ एटीएम मेसिन रहेका छन् । सन् २०११ मा यो सङ्ख्या प्रतिलाखका लागि करिब ७।३ थियो । सन् २०१९ डिसेम्बरसम्म ६८ लाख १९ हजार ६०२ डेबिट कार्ड प्रयोगमा रहेका थिए ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७७ असारसम्म ७४७ तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन् । ७४७ स्थानीय निकायमध्ये प्रायः सबैमा बैंकसँगै एटीएमको पनि पहुँच पुगेको छ ।

हाल प्रायः सबै वाणिज्य बैंक मात्र नभई सहकारीले समेत एटीएमबाट ग्राहकलाई सेवा दिन थालेका छन् । एटीएमको प्रयोग व्यापक रहँदा यसको कारोबार बढेको पाइएको छ । हाल नेपालमा तीन हजार ९५० एटीएम मेसिन रहेका छन् ।

कोरोनाका कारण भएको बन्दाबन्दीका कारण बैंकहरूले डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदा यी एटीएमबाट एक महिनामा ५४ अर्ब ७६ करोड ६३ लाख रुपियाँसम्म निकालिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार महिनामा मात्रै ६३ लाख दुई हजारपटकको कारोबारमार्फत एटीएम मेसिनबाटै ५४ अर्ब ७६ करोड ६३ लाख रुपियाँ निकालिएको छ । जुन अघिल्लो महिना (जेठ)भन्दा १४ अर्ब रुपियाँले बढी हो । जेठ महिनामा ४६ लाख ६३ हजारपटकको कारोबारबाट ४० अर्ब २७ करोड ७० लाख रुपियाँ निकालिएको थियो ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार वैशाखमा ३४ लाख ८९ हजार कारोबार सङ्ख्याबाट २७ अर्ब ८४ करोड ७० लाख रुपियाँ निकालिएको थियो ।

पछिल्लो समय चेकबुक लिएर बैंकका शाखामा लाइन बस्नुपर्ने झन्झटले गर्दा एटीएम कार्डका प्रयोक्ता बढ्दै गएका कारण एटीएममार्फत हुने कारोबार बढ्दो क्रममा छ । पछिल्लो विषम परिस्थितिमा मानिसहरू बैंकमा चेक साट्न जाने अवस्था नभएका कारण एटीएमको प्रयोग बढेको हो ।

त्यसैलाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको कार्डबाट जुनसुकै बैंकको एटीएम प्रयोग गर्न सकिने र त्यसमा कुनै शुल्क नलाग्ने व्यवस्था मिलाएको छ । त्यसअनुरूप बैंकको काउन्टरसम्म पुग्ने, लाइन बस्नेभन्दा पनि टोल छिमेक र पायक परेको ठाउँमा एटीएमबाट पैसा निकाल्ने क्रम बढेको हो ।

राष्ट्र बैंकले पछिल्लो समयमा ग्राहकलाई डिजिटल बैंकङमार्फत कारोबार गर्न भनिरहेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल भन्नछन्, “एटीएम अत्यावश्यक पर्दा रकम झिक्ने माध्यम हो, यसबाटै लाखौँ लाख रुपियाँ झिकेर कारोबार गर्ने होइन । धेरै रकमको कारोबार गर्नुपर्दा विद्युतीय माध्यमबाट गर्न नै आग्रह गर्दै आएका छौँ । ”

विद्युतीय कारोबार सुनिश्चित गरी सम्भव भएसम्म ग्राहकलाई त्यसतर्फ प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले भनेको छ । साथै राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गराउन पनि बैंकहरूलाई निर्देशन दिएको छ ।

सुविधा नभए कारबाही
ग्राहकको सजिलोका लागि सञ्चालनमा ल्याइएका एटीएम बुथबाट मानिसले सुविधाभन्दा झन्झट झेलिरहेको गुनासो आयो भने राष्ट्र बैंकले कडाइ गर्ने जनाएको छ । जारी निषेधाज्ञामा पनि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा नरोक्न तथा एटीएममा प्रशस्त नगद राख्न निर्देशन दिएको छ ।

बैंकहरूलाई एटीएम मेसिनमा पर्याप्त नगद राख्न र त्यसको निगरानीको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकको निर्देशन छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल एटीएम नचलेको तथा पैसा नदिएको पाइएमा राष्ट्र बैंकले तुरुन्तै एक्सन लिने बताउँछन् । एटीएममा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सर्कुलरमार्फत निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस