aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

देशमा सरकार भएको भए पक्कै यिनीहरू बाँच्ने थिए

  • रिता राउत
    रिता राउत
  • आइतबार, १४ भदौ २०७७
देशमा सरकार भएको भए पक्कै यिनीहरू बाँच्ने थिए

काठमाडौँ । मुलुक कोरोनाको कहरमा छ। यसको त्रास यति फैलाइएको छ की मानिसहरू कोरोना बाहेक अरू नै रोगको समेत उपचार नपाएर दिन दिनै मृत्युको मुखमा पुगिरहेका छन्। सबैभन्दा विडम्बना त यो हो की मानिसहरू अस्पताल नपुगेर होइन बरु अस्पताल चाहर्दा चाहर्दै मरिरहेका छन्।  अस्पतालको गेटमा छटपटाउँदै मानिसहरू मरेको खबरले स्वास्थ्य मन्त्रालयलाई छोएको देखिँदैन। 

सकुशल बच्चा जन्माएकी सुत्केरीको अति रक्तस्रावको कारण मृत्यु भएको खबर आजै मात्र आएको छ। उनलाई समय मै अस्पताल लान सवारीसाधनको मात्र व्यवस्थापन भएको भए नवजात शिशु टुहुरो बन्नुपर्ने थिएन।  तर, राज्य कोरोना 'नियन्त्रण गर्न' यती निर्मम ढङ्गले लागेको छ कि अन्य कारणले जहाँ जति मरे पनि वास्ता गर्दैन। 

तथापि, मानवीय संवेदना र आफ्नो कर्तव्य नभुल्न सरकारलाई केही घटनाको स्मरण गराइराख्नु पक्कै पनि जनहितमा होला भन्ने ठानेर हामीले केही कारुणिक प्रतिनिधि घटनालाई यहाँ प्रस्तुत गरेका छौँ :

घटना १ 
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ४ का ५२ वर्षीया अर्जुन राउतलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देएपछि उनी भदौ २ गते जिल्ला अस्पताल बोक्से पुगे । त्यहाँ मौसमी रुघाखोकी हो भन्दै स्वास्थ्यकर्मीले सामान्य उपचार गरेपछि उनी ढुक्क भएर घर फर्किए । घरमा आराम गरिरहेका उनको स्वास्थ्यमा  केही सुधार भएन । 

औषधिले पनि ठिक नभएपछि उनले भदौ ४ गते निमोनियाको आशङ्कामा त्रियुगा नगरपालिका ३ स्थित राजेश हेल्थ केयर सेन्टर प्राली मोतिगडामा परीक्षणका लागि रगत दिए । उनी ६ गते सोही हेल्थ केयरमा भर्ना भई उपचार गराए । तीन दिनसम्म उपचार गराए पनि उनलाई ठिक भएन । 

उनका परिवारले भदौ ८ गते राती डिस्चार्ज लिई काठमाडौँ पुर्‍याए । काठमाडौँ पुर्‍याएपछि चाबहिलको एक निजी अस्पतालमा लगियो । अस्पतालले भर्ना लिन मानेनन् । अन्य केही निजी अस्पताल पुर्‍याइयो । तर, भर्ना लिनु त परै जाओस् गेटबाटै फर्काइयो । कुनै अस्पतालले भर्ना लिन नमानेपछि एक आफन्तको भनसुनपछि अन्ततः त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेर इमरजेन्सी कक्षमा भर्ना गरियो । 

भर्ना गरिएको केही समयपछि नै उनलाई अस्पतालले मृत घोषणा गर्‍यो । उनमा कोरोनाको सामान्य लक्षण देखा परे पनि न जिल्ला अस्पतालले कोरोना परीक्षण गर्‍यो न हेल्थ केयरले नै कोरोना परीक्षण गर्न सुझाव दियो । शिक्षण अस्पतालले पनि सुरुमा कोरोना परीक्षण नै गरेन । मृत्यु भइसकेपछि मात्र कोरोना परीक्षण गर्‍यो । उनको मृत्यु भएको ४ दिन पछि मात्र कोरोना रिपोर्ट पोजेटिभ आयो । उनी आफ्नो रोगको पहिचान नै नपाई मृत्युको मुखमा पुगे । 

घटना २ 

मोरङको पथरी शनिश्चरे नगरपालिका-२ की ६२ वर्षीया सानकुमारी राईलाई भदौ १० गते बुधवार एक्कासि पिसाब बन्द भयो । आफन्तले बुधवार राति ८ बजे पथरीको मोरङ डाइग्नोष्टिक सेन्टर लगे । सामान्य चेक जाँचपछि सेन्टरले उपचार गर्न नसक्ने बतायो । मिर्गौलामा समस्या देखिएको भन्दै बिर्तामोड रिफर गरे । अवस्था जटिल भएको बताउँदै चिकित्सकले बी एण्ड सी अस्पताल बिर्तामोड रेफर गरे । आफन्तले राति नै एम्बुलेन्समा राखेर राति बी एण्ड सी अस्पताल पुर्‍याए । 

तर, बी एण्ड सीले भर्ना नलिने भन्दै गेटबाटै फर्काइदियो । मध्यरातमा बिरामी लिएर विराटनगर आएर, एकपछि अर्को गर्दै विराट मेडिकल कलेज, विराट नर्सिङ होम, गोल्डेन अस्पताल पुर्‍याए, तर सबै अस्पताल गेटबाटै फर्काए । आफन्तले नोबेल मेडिकल कलेज पनि लैजाने प्रयास गरे । तर इमरजेन्सी बन्द छ भन्दै बाटोबाटै फर्काए ।

अस्पतालको गेट चहार्दाचहार्दै सानकुमारीको अवस्था गम्भीर बनिसकेको थियो । आफन्तले बिहीबार बिहान ४ बजे कोशी अस्पताल पुर्‍याए । कोशीमा पनि आनाकानी गरिएको थियो । तर सबै जिम्मेवार आफन्त हुने बताएपछि चिकित्सकहरूले एम्बुलेन्सबाट निकालेर इमरजेन्सीको साटो आइसोलेसन कक्षमा लगेका थिए । त्यसको आधा घण्टामा नै अस्पतालले मृत घोषित उनलाई मृत घोषित गर्‍यो । 

घटना ३ 

वीरगन्ज महानगरपालिका -२ छपकैया बस्ने २० वर्षीया विष्णु लामालाई साउन २३ गते शुक्रवार बिहान सामान्य ज्वरो आउनुका साथै रुघाखोकी लाग्यो । उनी नजिकैको इन्डो-नेपाल हस्पिटलमा गईन र औषधि किनेर खाइन । बिरामीको अवस्था सामान्य नै थियो । तर, राति १० बजेतिर अचानक स्वास्थ्यमा समस्या देखियो । कोरोना महामारी सुरु भएदेखि वीर गन्जमा बिरामी बोक्ने एम्बुलेन्स पाउनु मुस्किल थियो । उनका आफन्तले अटोमा राखेर एडभान्स हस्पिटल पुर्‍याए।

अस्पतालका चिकित्सक र बिरामीमा कोरोना सङ्क्रमणको देखिएकाले त्यहाँ इमर्जेन्सीबाहेक अरू सेवा बन्द थियो । त्यसैले त्यहाँ भर्ना नै नगरी बयोधा अस्पताल लैजान सुझाए । बयोधाले डाक्टरलाई कोरोना लागेको छ उपचार सेवा दिन सकिँदैन भनेर फिर्ता पठायो । त्यहाँ पनि तराई वा भवानी हस्पिटल लैजान सुझाव दिए । तर, आफन्तले कोरोना विशेष अस्पताल गण्डकमा लगे । 

त्यहाँ कोरोना पुष्टि नभएका बिरामी भएकाको भर्ना गर्न मिल्दैन भनियो। त्यसपछि उनलाई भवानी अस्पतालमा लगियो । भवानी हस्पिटलले पनि उनलाई बाहिरबाटै फर्काइदियो । भवानीबाट तराई अस्पताल पुर्‍याइयो। बिरामीको लक्षण सोध्ने बित्तिकै आइसियु खाली छैन भनियो । बिरामीलाई नेशनल मेडिकल कलेज लगियो । नेशनलमा हार गुहार गर्दा पनि भर्ना लिन मानेनन्। 

स्थानीय पत्रकारले यो खबर सुनेपछि जसपाका एक नेतालाई सुनाए । ती नेताले अस्पतालमा फोन गरिदिन्छु बिरामीलाई नारायणी लैजान भनेर सुझाव दिए । बिरामी नारायणी अस्पताल पुगे । तर, ड्युटीमा रहेका चिकित्सकले भने, 'सामान्य उपचार मात्रै गर्न सकिन्छ उहाँमा शङ्कास्पद कोभिडको लक्षण छ । यहाँ उपचार हुन सक्दैन।' त्यहाँबाट नारायणी अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर अस्पताल पुर्‍याइयो । हेल्थ केयरले नन कोभिड बिरामी भर्ना गर्न प्रोटोकलले दिँदैन भन्ने जवाफ दिएपछि अन्तिममा पुनः गण्डक अस्पताल लगियो । गण्डकमा पुग्दा उनको अवस्था अन्तिम भइसकेको थियो । उपचार सुरु गर्न नपाई उनले प्राण त्यागिन् । 

घटना ४ 

साउन २२ गते बिहीबार बिहान वीरगन्ज-१४ श्रीपुरका ६४ वर्षीय चलितर महत्तोलाई एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि नेशनल मेडिकल कलेज पुगे । अस्पतालले भर्ना लिन नमान्दा मेडिकल कलेजकै गेटमा नै उनको मृत्यु भयो। त्यस्तै, साउन २३ गते शुक्रवार पनि नेशनल मेडिकल कलेजले भर्ना लिन नमान्दा उपचार नपाएर वीरगन्ज-३ छपकैयाका ६५ वर्षीय जोखु साह सोनारको मृत्यु भएको थियो । मृत्युपछि भने स्वाब परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

घटना ५ 

सुनसरीको कोसी गाउँपालिकाका-२ का वडा अध्यक्ष हिरालाल यादवलाई भदौ ६ गते शनिवार दिउँसो  घरमै बसिरहेको बेला हर्ट अट्याक भयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याईयो । धरानमा जाँच गराउँदा भेन्टिलेटर चाहिन्छ भनियो। कोरोना महामारीका कारण धरान र विराटनगरका अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि बिर्तामोड पुर्‍याइयो । बीएण्डसीले पनि यहाँ सकिँदैन भन्दै सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दियो । बीएण्डसीमा उपचार नहुने भएपछि फर्काउँदै गर्दा उनको बाटो मै मृत्यु  भयो ।

यी त प्रतिनिधि घटना मात्रै हुन्। यसअघि पनि अस्पताल डुलाउँदा डुलाउँदै अस्पतालले भर्ना गर्न समेत नमानेर कतिपय बिरामीको मृत्यु भएको छ । २४ घण्टे सेवा लेखेर बोर्ड लगाउने अस्पतालले यसरी बिरामीलाई गेटबाटै लखेट्ने गर्दै आएका छन् । सामान्य अवस्थामा जस्तोसुकै बिरामी भर्ना गरेर चर्को पैसा असुल्ने निजी अस्पतालले महामारीमा  कोरोना शङ्कास्पद देखिने बित्तिकै भर्ना नै नगर्ने गरेका छन् । २४ अ‍ैं घण्टा सेवाको बोर्ड टाँगेर अप्ठेरो स्थितिमा सेवा नदिने अस्पताललाई सरकारले केही कारबाही गर्नु पर्दैन ? यो प्रश्न गर्न मिल्दैन किनकि सरकारलाई जिम्मेवारी बोध गराउने यस्ता प्रश्न गर्नेलाई 'सरकार विरोधी तत्त्व' भन्ने गरिन्छ। 

प्रतिक्रिया दिनुहोस