
एजेन्सी । चीन र अमेरिका बिचको सम्बन्ध झन्डै युद्धको अवस्थामा पुगिरहेका बेला चीनको ग्लोबल टाइम्सले केही दिन अघि एउटा समाचार छाप्यो । सो समाचारमा उसले चिनियाँ सामुन्द्रिक क्षेत्रमा प्रवेश गरेका अमेरिकी जल सेनालाई धपाएको कुरा सगौरव उल्लेख गरेको थियो ।
यो समाचारको खण्डन गर्दै अमेरिकाले त्यस्तो कुनै घटना नभएको जनाएको छ । तर, चिनियाँ सञ्चारमाध्यमले अमेरिकी जल सेनाको मिसाइल नष्ट गर्ने टुकडी चीन अधीनस्थ जलिए क्षेत्रमा बिहीबार प्रवेश गरेको थियो । चिनियाँ जनसेनाको दक्षिणी क्षेत्र हेर्ने कमान्डले त्यसलाई पिछा गर्यो र त्यहाँबाट लखेटेर फिर्ता पठाएको कुरा लेखेको छ ।
सो समाचारमा अमेरिकाले जल क्षेत्रबारेको अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै दक्षिण चीन सागरमा प्रवेश गर्ने गरेकोले त्यस क्षेत्रमा सुरक्षा जोखिम बढेको उल्लेख गरेको छ । अमेरिकाको यस्तो हर्कतले चीनको सार्वभौमिकता र सुरक्षामा समेत चुनौतीमा थपेको भन्दै उनीहरूले कडा आपत्ति जनाएका छन् ।
तर, अमेरिकी पक्षले भने आफ्नो सेनाको लज्जास्पद अवस्था सिर्जना भएको भन्ने चिनियाँ पक्षको दाबीलाई अस्वीकार गरिसकेको छ । उसले चीनको सरकार नियन्त्रित सञ्चारमाध्यमले गरेको दाबीलाई ‘प्रमाणविहीन’ तथा गलत समाचार भन्दै खण्डन गरेको छ । उसले चीनले भनेझैँ आफूहरू चिनियाँ क्षेत्रमा प्रवेश नगरेको उल्लेख गरेका छन् ।
बरु उनीहरूले थप के दाबी गरेका छन् भने आफ्ना गतिविधिहरू चीन नियन्त्रित क्षेत्र भित्र नभएर त्यस बाहिर नै केन्द्रित रहेका थिए । तर, एक अर्कालाई कमजोर देखाउने गरी सरकार नियन्त्रित सञ्चार माध्यमहरूले नै यसरी समाचारहरू प्रकाशित गर्ने र त्यसलाई अर्को पक्षले खण्डन गर्ने जस्ता घटनाबाट दुई देश बिचको सम्बन्ध सामरिक हिसाबले समेत अत्यन्तै कमजोर बनेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस