aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

वडाध्यक्षले गरिदिए दुई सय जनाको कोरोना बिमा

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, १५ भदौ २०७७
वडाध्यक्षले गरिदिए दुई सय जनाको कोरोना बिमा

पूर्वी नवलपरासी । कावासोती नगरपालिका–६ का अध्यक्ष हेमप्रसाद पाण्डेले २ सय जनाको कोरोना बिमा गरिदिएका छन् । दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरुको पैसा तिरेर पाण्डेले बिमा गरेका हुन् ।‘वडामा बिपन्नको बस्ती छ उनीहरुलाई कोरोना संक्रमण भइहाले उपचारमा सहयोग पुगोस् भनेर ६० हजार नगद बुझाएर सबैको बिमा गरिदिए’ पाण्डले भने, ‘एकै परिवारका ६ जनासम्मको बिमा भएको छ ।’

हरेक ब्यक्तिको ३ सय रुपैयाँ तिरेपछि एक लाख बराबरको बिमा हुन्छ । बिमा गर्नेको थप ३ सय सरकारले दिने व्यवस्था छ । बिमा गरेका ती कसैमा कोरोना पोजिटिभ देखिए एक लाख रुपैयाँ मागदाबी गर्न सक्छन् । दैनिक ज्यालादारी गरेर खाने परिवारलाई राहत होस् र जोखिम कम होस भन्नका लागि आफूले सहयोग गरेको उनले सुनाए ।

सिद्धार्थ इन्स्योरेन्सका प्रतिनिधि बेदप्रसाद न्यौपानेले २ सय जनाको बिमा आइतबार भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस