
मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले पढाइ तथा अन्य खर्चको जिम्मा लिँदै अभिभावकत्व ग्रहण गरेका कार्मारोङ गाउँपालिका-८ माँग्री गाउँकी आठ वर्षीया ठिन्ले साङ्मु लामा यतिबेला खर्च जुटाउन उच्च हिमाली क्षेत्र पाटन गएकी छन् ।
आर्थिक अवस्था कमजोर बुबासमेत नभएकी ठिन्ले वर्षभरीको पढाइ तथा अतिरिक्त खर्चको जोहो गर्ने उद्देश्यसहित यार्सागुम्बा संकलन गर्न एक महिनाका लागि पाटन उक्लेकी हुन् ।
२०७५ बैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीले विद्यालय भर्ना अभियानको अवसर पारे ठिन्लेलाई कक्षा एकमा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए ।
प्रधानमन्त्री स्वयं लामाको अभिभावक भएपछि ठिन्लेका आफन्त र छिमेकीले उनको पठनपाठन तथा दिनचर्यामा परिवर्तन आउने अपेक्षा गरेका थिए । तर लामाले एक कक्षामा राम्रै नतिजा ल्याएर दुई कक्षामा गएको एक महिनामै खर्च जुटाउन पाटन जानुपर्ने बाध्यता भएपछि आफन्तहरु निरास बनेका छन् ।
बैशाख १ गते प्रधानमन्त्री पत्नी राधिका शाक्यले अभिभावकत्व ग्रहण गरी भर्ना गरिएकी छिरिङ छोङ्जुम लामा पनि पढाइ तथा अतिरिक्त खर्च जुटाउन यार्सा संकलनका लागि पाटन गएकी छन् ।
प्रतिक्रिया दिनुहोस