aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बफेटले जापानमा गरे ६ बिलियन डलर लगानी, के ढल्न लागेको हुन् अमेरिकी बैंक ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
बफेटले जापानमा गरे ६ बिलियन डलर लगानी, के ढल्न लागेको हुन् अमेरिकी बैंक ?

वर्कसायर हाथवका सिइओ तथा विश्व शेयर बजारका बादशाह वारेन बफेटले जापानका ५ वटा ठुला कम्पनीहरूमा लगानी गरेका छन् । उनले ऊर्जा तथा कच्चा पदार्थ उत्पादक उद्योगदेखि वस्तु व्यापार गर्ने कम्पनीहरूमा अर्वौँ डलर लगानी गरेका हुन् । 

आइतबार मात्र ९० वर्ष पुगेका दिग्गज लगानीकर्ता बफेटले एसियाको दोस्रो ठुलो अर्थतन्त्र भएको जापानका प्रमुख कम्पनीहरूमा गरेको यो अहिलेसम्मकै ठुलो लगानी हो । यसअघि उनले आफ्नो पुरानो मान्यतालाई तोड्दै बेरिक गोल्डमा ठुलो लगानी गरेका थिए । 

हालै अमेरिकी बैंकहरुमा आफूले गरेको लगानी फिर्ता गर्दै बफेट सुन खरिदमा लागे पछि सुनको कारोबार गर्ने कम्पनी  बेरिक गोल्डको मूल्य शेयर बजारमा निकै माथी उचालिएको छ । 

अमेरिकी बैंकहरुको ठुलो लगानीकर्ताका रूपमा रहेका उनले ती बैंकको शेयर बेचेर सुन तथा एसियाली कम्पनीहरूमा लगानी बढाएपछि अमेरिकी अर्थतन्त्र र वित्तीय प्रणाली गम्भीर संकट तर्फ धकेलिँदै गएको अनुमान धेरैले लगाउन थालेका छन् । 

वर्कसायरले जापनिज ५ कम्पनीहरू इत्त्तोचू कर्पोरेसन, मारुबेनी कर्पोरेसन, मित्सुबीसी कर्पोरेसन, मित्सुई एन्ड कर्पोरेसन र सुमितोमो कर्पोरेसनको ५ प्रतिशत शेयर यसबिच खरिद गरेको जानकारी आइतबार वर्कसायरद्धारा जारी विज्ञेप्तीमा दिइएको छ । 

यी सबै ५ कम्पनीहरूमा बफेटले गरेको लगानीको कूल मूल्य ६ बिलियन डलर रहेको छ । अहिले यी ५ वटै कम्पनीको बजार मूल्यमा उत्साहप्रद ढंगले वृद्धि भइरहेको छ भने वफेटले शेयर बेचेका अमेरिकी बैंकहरु संकटको सामना गरिरहेका छन् । 

त्यसो त उनले शेयर खरिद गरेको बेरिक गोल्डको मूल्य पनि अत्यन्तै राम्रो देखिँदै आएको छ । हालको कोरोना महामारीबाट विश्व अर्थतन्त्र नै समस्यामा परिरहेका बेला बफेटको कम्पनीले भने इनर्जी क्षेत्रमा मात्र ४ बिलियन डलर लगानी गर्ने सम्झौता गरेको छ । डोमिनियन इनर्जी इन कर्पोरेसन नामक प्राकृतिक ग्यासको कारोबार गर्ने कम्पनीमा उनको यस्तो लगानी हुन गइरहेको छ । 

अन्य लगानीकर्ताहरू प्रविधिसँग सम्बन्धित कम्पनीहरूमा आकर्षित बनिरहेका बेला उनी भने वस्तु व्यापार गर्ने कम्पनीहरूमा नै आफ्नो लगानी बढाइरहेका छन् । 

सबै भन्दा महत्त्वपूर्ण कुरा त यो छ की बफेटले अहिले जापानमा त्यो बेला लगानी गरिहेका छन् जुन समय जापानमा आयोजना हुन गइरहेको टोकियो ओलम्पिक स्थगित भएको छ । त्यस बाहेक त्यहाँका प्रधानमन्त्री सीन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका छन् । 

तर, बफेटको लगानीले जापनिज शेयर बजार भने थप उत्साहित बनेको देखिएको छ । सोमबारको कारोबारमा त्यहाँ १.८ प्रतिशतको सुचकांक वृद्धि भएको छ । लगातार तीन दिनको गिरावट पछि यो उत्साह देखिएको हो । जापानमा लगानी गर्ने विदेशी लगानकिर्ताहरुले यो वर्ष ४३ बिलियन डलरको लगानी फिर्ता गरिसकेका छन् । 

सन् २०१८ यताको सर्वाधिक ठुलो लगानी फिर्ता भइरहेको देख्दा समेत बफेटले भने त्यहाँ लगानी थपिरहेका छन् । बर्क सायरका अनुसार सो कम्पनीले जापानी कम्पनीहरूमा ९.९ प्रतिशतसम्म शेयर खरिद गर्नेछ ।    

यसअघि उनले यस प्रकारको आक्रामक लगानी अमेरिकी कम्पनीहरू जस्तै कोकाकोला र एप्पलमा गरेका थिए । त्यसपछि सन् २०१६ मा अमेरिकाका प्रमुख ४ एयरलाइन्समा लगानी गरेका उनले कोरोना महामारी शुरु भएपछि ती एयरलाइन्सका शेयर बिक्री गरेका छन् । 

उनको कम्पनीको जम्मा पोर्टफोलियो २०७ बिलियन डलरको छ । जुन महिनाको अन्त्यसम्ममा देखिएको यो पोर्टफोलियोमा मूल्य बढी रहेको प्रविधि कम्पनी एप्पल देखि संकटको सामना गर्ने अवस्थामा पुगेको बैंक अफ अमेरिका कर्पोरेसन समेत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस