काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले यसअघि स्थगित भएका र रोकिएका स्नातक र स्नातकोत्तर तहका सेमेष्टर प्रणालीका विद्यार्थीको परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषदले आज यस्तो निर्णय गरेको हो।
तत्काल नियमिततर्फका परीक्षा मात्र सञ्चालन गरिनेछ। परीक्षालाई वैकल्पिक विधिबाट सञ्चालन गर्ने निर्णय भएको परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ। परीक्षाको तालिका भने केहि दिनमा प्रकाशन हुनेछ।
विश्वविद्यालयले सम्बन्धित विद्यार्थीलाई परीक्षाको तयारीमा जुट्न र आफू अध्ययनरत क्याम्पस तथा विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ। परीक्षा नियन्त्रक प्राध्यापक डा. सूर्यप्रसाद संगौलाले सोमबार जारी गरेको विज्ञप्तिमा वार्षिक प्रणाली अन्तर्गत पढेका नियमित तथा आंशिक र सेमेष्टर प्रणालीका आंशिक परीक्षा सम्बन्धमा पछि निर्णय गरिने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस