काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि अन्तरराष्ट्रिय उडान बन्द हुँदा तयारी पोशाक उद्यमीहरू नेपालबाट तयारी पोशाक (गार्मेन्ट) निर्यातका लागि ४ गुणासम्म बढी भाडा तिर्न बाध्य भएका छन् । हाल नेपालबाट विभिन्न मुलुकमा हुने उद्धार उडानका जहाजमार्फत सामान निर्यात गर्दा उद्यमीहरूले ४ गुणासम्म बढी भाडा तिर्नु परेको हो ।
नेपालमा उत्पादित तयारी पोशाक जर्मनी, फ्रान्स, हंगेरी, डेनमार्क, इटाली, नर्वेजस्ता यूरोपेली देशलगायत अमेरिका, अस्ट्रेलिया, क्यानडामा समेत निर्यात हुने गरेको छ । नेपाली तयारी पोशाक मुख्य बजार यूरोप हो, जहाँ कुल उत्पादनको करीब ७० प्रतिशत सामान प्रतिशत निर्यात हुने गरेको छ ।
तयारी पोशाकको माग सिजनल हुने र बन्दाबन्दीअघि अर्डर आएका उत्पादन सामग्रीहरू निर्यात गर्न नसक्दा हालसम्म करीब सवा अर्ब बराबर मूल्यका कपडाको सिजन सकिएकाले नोक्सानी बेहोर्नु परेको उद्यमीहरू बताउँछन् । सिजन अवधि सकिएका सामान अर्को सिजनसम्म राखिराख्नुपर्दा व्यवसायीलाई लाखौं मूल्यको क्षति पुग्छ ।
हाल माग भइरहेका हाफ पाइन्ट, ट्राउजर, पाइन्ट, लेडिज ड्रेसलगायत केही सामग्री महँगो भाडादर तिरेरै भए पनि सीमित देशहरूमा निर्यात भइरहेको गार्मेन्ट एशोसिएशन अफ नेपालका महासचिव अशोक अग्रवालले बताए ।
चार्टर गरिएको जहाज भएकाले सामान्य अवस्थाको तुलनामा ४ गुणासम्म बढी भाडा तिरेर सामान निर्यात गर्न बाध्य भएको उनले बताए । यसअघि सामान्य अवस्थामा यूरोपका सबैजसो देशहरूमा प्रतिकिलो सामानको भाडादर २ डलर रहेकामा हाल ८ डलरसम्म तिर्नु परेको अग्रवाल सुनाउँछन् । ‘माग भएको समय सामान डेलिभरी गर्न नसक्दा सिजन अफ हुने र फेशन आउट भएर नोक्सानी बेहोर्नुभन्दा महँगो भाडा भए पनि तिर्नु परेको हो,’ उनले भने ।
१५ वर्षअघि नेपालमा करीब १२ सय गार्मेन्ट उद्योग सञ्चालनमा थिए । ती उद्योगमा १ लाखभन्दा बढीले रोजगारी पाएका थिए । हाल देशभर ५० ओटा मात्रै गार्मेन्ट उद्योग सञ्चालनमा छन् भने त्यसमा ८ हजारले रोजगारी पाएको एशोसिएशनको तथ्यांक छ ।
गत आर्थिक वर्षमा ७ अर्ब बराबरको कारोबार गरेको तयारी पोशाक उद्योगको कोरोनाका चालू आवमा भने त्यस्तो कारोबार न्यून हुन सक्ने एशोसिएशनले जानकारी दिएको छ ।
बन्दाबन्दीपछि करीब २० प्रतिशत क्षमतामा चलेका तयारी पोशाक उद्योगबाट उत्पादित सामग्री विदेश पु¥याउन नसक्दा घाटा सहनु परेको उद्यमीहरूको गुनासो छ । नेपालको रोजगारी वृद्धि र निर्यात व्यापारमा ठूलो अंश ओगटेको तयारी पोशाक उद्योगलाई सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने माग उनीहरूको छ ।
उत्पादित वस्तुको लागत मूल्यभन्दा धेरै भाडा तिरेर निर्यात गर्नुपर्दा व्यवसायीले धेरै घाटा बेहोर्नु परेको एशोसिएशनका कार्यकारी अधिकृत राजेश लामिछानेले बताए ।
उनका अनुसार यसअघि व्यवसायीले भारतको बाटो हुँदै पानीजहाजमार्फत सामान निर्यात गर्थे । तर, अहिले कोरोना संक्रमणका कारण त्यसरी पठाउन सम्भव नभएपछि चार्टर गरिएको जहाजमा पठाउनुपर्ने बाध्यता रहेको लामिछानेको भनाइ छ ।
धेरैजसो यूरोपेली मुलुकमा कोरोना संक्रमण नियन्त्रण आइनसकेकाले ८५ प्रतिशतले मागमा कमी आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस