लन्डन । नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बीबीसीले जनाएको छ ।
प्रहरीले परिवारलाई अवगत गराइसकेको छ । बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।
स्थानीय जंगल, नदी किनारामा व्यापक खोजी गरेको प्रहरीले छरछिमेकका बासिन्दाहरुलाई आ-आफ्ना घरका बगैंचा, भण्डार गृह, गोठ आदि चेक गर्न आग्रह पनि गरेको थियो । कुनै स्थानीय बासिन्दा वा व्यवसायीसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको थियो ।
वार्सेस्टसायरका स्थायी बासिन्दा मोरिस नेपालका लागि पूर्व राजदूत समेत हुन् । २०१९ सम्म चार वर्ष उनी नेपालका लागि राजदूत थिए । तीन सन्तानका बाबु मोरिस नेपालपछि फिजीका लागि ब्रिटीश उच्च आयुक्तको रुपमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस