aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

चीनको खेलौनाले यसरी उडाउँदैछ मोदीको सपना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
चीनको खेलौनाले यसरी उडाउँदैछ मोदीको सपना

हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै नागरिकहरूबाट ठुलै तिरस्कार भोगे । विषय थियो—खेलौना बजारमा भारतको हिस्सा बढाउन उनले व्यापारीलाई दिएको सुझाव । 

किन यसरी आफ्नो देशको निर्भरता बढाउ र व्यापार गरेर पैसा कमाऊ भन्ने प्रधानमन्त्रीको चाहना मानिसहरूका लागि आपत्तिको विषय बन्यो ? कारण गज्जब रहेछ । 

चिनियाँ उत्पादन बहिस्कार गर्ने नारा लगाउँदै गरेको भारत वास्तवमै खेलौना उत्पादनमा भने यति कमजोर रहेछ की सम्पूर्ण रूपमा चीनकै भर परेको देखियो । हालै भारतले कतिपय चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउने फैसला गर्‍यो । त्यस लगतै आफ्नो व्यापार नीति बदल्दै सरकारी ठेक्का पट्टामा चिनियाँ कम्पनीहरूलाई भाग लिन नसक्ने व्यवस्था गर्‍यो । 

तर, चीनसँगको व्यापारमा भने यस्ता कुनै पनि निर्णयले खासै असर पार्न सकेन । त्यसैले मोदीले चिनियाँ खेलौना आयात विस्थापित गर्न स्वदेशमै त्यसको उत्पादन गरौँ भन्ने प्रस्ताव गरे । 

अगस्ट ३० को दिन ‘मन की बात’ कार्यक्रममा उनले विश्वमा खेलौना उद्योग लगभग ७ लाख करोड रुपैयाँ भन्दा ज्यादा कारोबार गरिरहेको र भारतको हिस्सा त्यसमा अत्यन्तै कम भएको बताए । उनले प्रश्न गरेका थिए—जुन देशमा यति ठुलो विरासत छ, परम्परा छ, युवा जनशक्ति छ त्यो देशको यति कम हिस्सेदारी के ठिक कुरा हो ? 

मोदीले त्यस बेला पनि चीनको नाम त लिएनन् । तर, सबैलाई थाहा छ की भारतमा मात्र होइन विश्वभर नै चीनको खेलौनाको माग अत्यधिक छ । भारतीय यस कारण पनि मोदीको कुरामा रुष्ट बने की जुन देश खेलौना उत्पादन गर्नेमा विश्वका ५ वटा प्रमुख देशमा समेत पर्दैन । त्यसले एकै चोटि विश्वकै प्रमुख खेलौना उत्पादक चीनसँग जोरी खोज्ने कल्पना कसरी गर्‍यो ? 

जुन लक्ष्य नरेन्द्र मोदीले यस बेला तय गर्ने प्रयत्न गरे अहिलेको परिस्थितिमा त्यो कसैगरी सम्भव छैन । किनकि आँकडाले नै यो कुरा स्पष्ट देखाउँछ । विश्व खेलौना उद्योगमा चीनको हिस्सा ८६ प्रतिशत छ । दोस्रोमा युरोपेली मुलुकहरू पर्दछन् ।

सन् २०१९ मा १०५ बिलियन अमेरिकी डलरको खेलौना विश्व बजारमा कारोबार भयो । जुन सन् २०२५ सम्ममा १३१ पुग्ने सम्भावना छ । भारतकै कुरा गर्ने हो भने उसको हिस्सा ०.५ प्रतिशत भन्दा पनि कम छ । 

भारतमा करिब १६ हजार करोडको खेलौनाको कारोबार हुन्छ । जसमा स्वदेशी उत्पादनको २५ प्रतिशत मात्र हिस्सा छ भने बाँकी ७५ प्रतिशतमध्ये ७० प्रतिशत त चीन एक्लैले ओगटेको छ । 

यो स्थितिमा मोदी भने एकै चोटि आयात प्रस्थापन मात्र होइन विश्व बजारमा नै आफ्नो हिस्सा कुरा गरिरहेका छन् । जुन कुरा भारतियहरुलाई नै पचेन र उनको मनको कुरामा डिसलाइकको वर्षा भयो । 

प्रतिक्रिया दिनुहोस