पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले बजेटमा समावेश गरेको कालीगण्डकी डाइभर्सनको योजना कार्यान्वयन हुन नदिने बताएका छन् । प्रदेशसभामा विपक्षी दलले उठाएको प्रश्नका जवाफमा सोमबार उनले गण्डकीलाई नसोधी डाइभर्सन योजना ल्याइएकोमा आपत्ति जनाएका हुन् ।
'कालीगण्डकी नदी डाइभर्सन नगरेर कपिलवस्तु र रुपन्देही सुख्खा भएर नेपालमा अनिकालै लाग्छ भने हामी छोड्छौं, तर त्यस्तो स्थिति होईन,' मुख्यमन्त्री गुरुङले भने, 'कालीगण्डकी डाइभर्सनबाट जति बिजुली उत्पादन हुन्छ, त्यति भएन भने के नेपाल अँध्यारो हुन्छ ? के नेपालको उद्योग धन्दा ठप्पै हुन्छ ? के नेपालको लोडसेडिङ फेरि पनि बढेर जान्छ ?'
'कालीगण्डकी डाइभर्सन गर्ने बित्तिकै नेपालकै काशी देवघाटको अस्तित्व समाप्त हुन्छ, सबै कुरा हेर्दा कुनै नेताको अहम् पुरा गर्न हामी सहादत प्राप्त गर्नुपर्छ भन्ने छैन,' उनले भने । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस