aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
टिप्पणी

यसकारण अर्घेलो बने अर्थमन्त्री खतिवडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
यसकारण अर्घेलो बने अर्थमन्त्री खतिवडा

केही दिन यता अर्थमन्त्री डा. युवराज खतिवडा फेरि एक पटक चर्चाको केन्द्रमा छन् । यसरी चर्चित बन्नुमा उनको कुनै योगदान छैन । बरु केही हदसम्म उनका कमजोरी सहायक होलान् । 

धेरैले बुझ्न सकिरहेका छैनन् खतिवडालाई खेदो खन्नेहरूको यस्तो जमात निर्माण हुनुको कारण के हो ? न त कसैले खुलेरै भनेका छन् । न तथ्य प्रमाणहरूले नै खतिवडालाई अभिसापसिद्ध गरेका छन् । फेरि पनि खतिवडाको पक्षमा माहौल बनेको छैन । बरु कहिले खतिवडाले अर्थ मन्त्रालय छोड्लान् र त्यसपछि उत्सव मनाउँला भन्नेहरू पर्याप्त भेटिन्छन् । 

हुन पनि खतिवडा नेपाली राजनीतिका त्यस्ता पात्र बने जसले कहिले सक्रिय दलीय राजनीति गर्नुपरेन । तर, अवसर भने सधैँ पाइरहे । उनी तिनै पात्र हुन् जसको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै दुई तिहारको समर्थनमा सरकार गठन गर्दाको सानो क्याबिनेटमा अटाउन सफल भएकोमा बेहत प्रशंसा भएको थियो । त्यस बेला बधाई र शुभकामना दिएर नथाक्नेहरू अहिले उनलाई गाली गरेर थाकिसके । तर, फेरि पनि कसैले यो प्रश्नको जवाफ दिन सकेका छैनन्— अर्थमन्त्री खतिवडाले के बिगारे ?
 
सायद, केपी ओलीको प्रिय पात्र बन्नु उनका लागि सबैभन्दा ठुलो अभिसाप बन्दै छ । हुन पनि खतिवडा कस्तो समस्यामा छन् भने केपी ओलीको नजिक नबसौँ क्याबिनेटमा अटाउन सकिने आधार छैन । उनको विश्वास पात्र बनौँ खुट्टा तान्नेहरूको ठुलै झुन्ड ओली गुटमै छ । हुन सक्छ, यही किंकर्तव्यबिमुढको अवस्थामा पुगेर होला क्याबिनेटको अघिल्लो बैठकमा उनी सहभागी भएनन् । अनि, त्यसै कारण पनि उनीबारेको चर्चा चुलियो । 

त्यसो त उनलाई यस पटक चर्चामा ल्याउन उनकै भाग्य निर्माता प्रधानमन्त्री केपी ओलीले पनि भूमिका खेले । टेलिभिजनमा अनुहार देखाइराख्ने आफ्नो रहर पुरा गर्न प्रधानमन्त्रीले केही दिन अघि दिएको एक पट्यारलाग्दो अन्तरवार्तामा खतिवडालाई भदौ २१ पछि पनि अर्थमन्त्रीका रूपमा निरन्तरता दिइरहने संकेत गरे । त्यही साँझदेखि खतिवडालाई फुटेका आँखाले समेत हेर्न नसक्नेहरूको निद्रा गुम्यो । र, अन्ततः वामदेव गौतमलाई उचालेर तगारो हाल्न पुगे ।
 
यसबिच राष्ट्रिय सभा सदस्य आफूलाई नै बनाउनु पर्ने गौतमको दाबीबारे सामाजिक सञ्जालमा निकै नकारात्मक टिप्पणीहरू देखा परे । तर, औपचारिक सञ्चार माध्यमहरूले नेपाली राजनीतिका एक पाका व्यक्तित्वमा देखिएको त्यो अनपेक्षित स्खलनलाई खासै वास गरेनन् । के हुन सक्छ त्यसको कारण ? के अर्थमन्त्रीले सर्वत्र शत्रु कमाएका हुन् ? वा केपी ओलीद्वारा रुचाइएका व्यक्ति भएकै कारण उनी पनि छिःछिःदुर्दुरमा परेका हुन् ? 

त्यसो त अर्थमन्त्री डा. खतिवडाले नेपालमा गर्नै नहुने धेरै काम गरे । उनले सांसदहरूको मनमौजी चल्ने सांसद विकास कोषमा कटौती गर्न चाहे । त्यो उनको पहिलो अपराध हो । नेपालको आर्थिक स्थिति जर्जर छ । त्यसै कारण हामीले निर्मम ढंगले सुधारका कार्यक्रम अघि बढाउनु पर्छ भन्ने प्रस्तावसहित मन्त्री बन्ने बित्तिकै श्वेत पत्र जारी गरे । यसरी सत्य बाहिर ल्याउनु उनले गरेको अर्को अक्षम्य अपराध थियो । 

त्यस बाहेक पनि खतिवडाले आफू सिंहदरबार अर्थ मन्त्रालय वरिपरि घुम्ने दलालहरूलाई प्रवेश निषेध झैँ गरे । यसरी बिचौलियाहरूबाट अर्थ मन्त्रालयलाई टाढा राख्न खोज्नु अर्थ मन्त्रालयकै कर्मचारीले समेत उनलाई धारे हात लगाउनुको प्रमुख कारण हो भन्न हिचकिचाउनु पर्दैन । 

अर्थमन्त्रीको राजीनामा माग गर्दै भोक हडतालमा बसेका पुँजी बजारका लगानीकर्ताहरूलाई उनले नीतिगत निर्णय र बजेट मार्फत मागेभन्दा, सोचेभन्दा बढी दिए । उनीहरू अहिले केही आरोप लगाउन नपाएर अर्थमन्त्री हिँडेको बाटो नै गन्हाउँछ भन्न थालेका छन् । तिनीहरूलाई लगानीको लागि उपयुक्त वातावरण बनाइदिनु पनि सायद उनले गरेको गल्ती नै हो ।   

अहिले अर्थमन्त्रीका नीतिगत निर्णयहरूमा प्रश्न गर्न नसकेपछि कतिपय सचेत आलोचकहरूले उनले गरेका नियुक्ति र बाँडफाँट गरेका जिम्मेवारीमाथि प्रश्न उठाइरहेका छन् । सबैले स्विकार्नै पर्ने सत्य के हो भने नियुक्ति र जिम्मेवारी तोक्ने कुरामा खतिवडा नराम्ररी चुकेकै हुन् । उनी जतिको मान्छेले आफन्त साथीभाइ रोज्नु हुँदैन थियो । कसैको सिफारिसका आधारमा ल्याप्चे लगाउने मन्त्री बन्नु हुँदैन थियो । तर, उनी यो मामिलामा नराम्ररी चुके । 

त्यसबाहेक कतिपय ठुलै खेलो फड्कोमा पनि सायद उनी भागी बसेका होलान् । नत्र देश यस्तो कमजोर स्थितिमा जाँदै गर्दा पुस्तक प्रकाशकहरूको प्रभावमा परेर पाठ्यपुस्तकलाई रङिन बनाउने खर्चिलो विचार उनमा आउने थिएन । कुनै विशेष व्यापारिक घरानालाई लाभ हानी हुनेगरि उनले निर्णय गर्नु पछाडि अवश्य पनि ठुलै कारण लुकेको हुनपर्छ । आशा गरौँ, केपी ओलीका साखै चेला भए पनि गल्ती स्विकार्ने र आफैलाई सच्याउने हिम्मत गर्नेछन् । 

यस्तो आशा किन राखिएको हो भने अहिलेको जुन विषम परिस्थिति छ यस्तो बेला राज्य ढुकुटीको ताला चाबी एउटाबाट अर्कोको हातमा सार्नु ठिक होइन । खतिवडा आफूलाई पढेको, जानेको बुझेको अर्थशास्त्री ठान्छन् । कतिपयले उनको दाबी सही हो भनेर विश्वास पनि गरेका छन् । अहिले त्यो बेला आएको छ जुन बेला उनले जानेको ज्ञान र बुझेको अर्थशास्त्रको साँच्चिकै प्रयोग गर्नुपर्छ । नेपाललाई आर्थिकरुपमा टाट पल्टिँदै गरेको अवस्थाबाट उठाउन सके भने उनले बुझेकै रहेछन् भन्न सकिन्छ । नत्र उनको विद्यता उदाङ्गो हुने नै छ । 

राष्ट्रिय सभामा खतिवडालाई नै मनोनयन गरेर अर्थ मन्त्रालयमा उनकै निरन्तरता किन पनि आवश्यक छ भने चालु बजेटका लक्ष्य र उद्देश्य उनैले सेट गरेका हुन् । त्यो पुरा गर्ने र आफूलाई सफल साबित गर्ने जिम्मेवारी उनकै हो । अर्को कुनै व्यक्ति अर्थ मन्त्रालयमा ल्याएर राखेपछि त्यसले त्यो जिम्मेवारी पुरा गर्नु पर्दैन । अनि, जवाफ देहिताबिना कुर्सीमा बसेर मासिक तलब भत्ता र विभिन्न चलखेलबाट प्राप्त हुने कमिसन कुम्ल्याउने बाहेक जो कोहीलाई अर्थमन्त्री बनाए पनि अरू केही गर्नै सक्दैन । 

चाहे जे होस अहिले सत्तारुढ दल नेकपाभित्र अर्घेलो बनेका छन् अर्थमन्त्री खतिवडा । उनका कारण निकै ठुलो भूकम्प दल र सरकार दुबैमा आइरहेको छ । निश्चित छ खतिवडा क्याबिनेटमा रहुन्जेल नेकपा र ओली सरकार दुबैमा पराकम्पहरू देखा परिरहने छन् । प्रधानमन्त्री ओलीले काखैमा राख्ने, उनकै गुटका अन्य महारथीहरूले सधैँ कर्के नजरले हेर्ने, ओली इतर गुटका मानिसहरूले खुलेर विरोध गर्न नसक्ने तर, यथाशीघ्र पदच्युत भएको हेर्न पाइयोस् भनेर कामना गर्ने, उद्योगी व्यापारीहरूले अर्थमन्त्रीको रूपमा स्विकार्नै नसकेका र सर्वसाधारणले केही भए यिनैबाट होला भनेर विश्वास गरिएका वास्तवमै अर्घेला पात्र हुन् खतिवडा । 

हेर्रौँ, भदौ १८ गते बस्ने सचिवालयको बैठकले खतिवडाको खेदो खन्छ या उनलाई स्वीकार गर्छ । यदि विगतमा झैँ १८ गतेको पनि सचिवालय बैठक पछाडि सार्न केपी ओली सफल भए भने चाहिँ निश्चित हो । जस्तोसुकै भाकल गरे पनि खतिवडालाई कुनै दैवी शक्तिले अर्थ मन्त्रालयबाट बाहिर निकाल्न सक्दैन ।     

प्रतिक्रिया दिनुहोस