aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अस्ट्रेलियाको अर्थतन्त्रमा २८ वर्ष यताकै ठुलो मन्दी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
अस्ट्रेलियाको अर्थतन्त्रमा २८ वर्ष यताकै ठुलो मन्दी

क्यानबेरा । कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । 
बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ । 

सन् १९५९ यता पहिलो पटक अप्रिलदेखि जुन महिनाको अवधिमा अस्ट्रेलियाको अर्थतन्त्र ७ प्रतिशत खुम्चिएको छ । यसअघि सन् १९७४ मा २ प्रतिशतले अर्थतन्त्र न्यून भएको थियो । अर्थशास्त्रीहरुले यसअघि सन् १९३० को महामन्दीको अवस्थामा अर्थतन्त्र ९.५ प्रतिशतले खुम्चिएको बताएका छन् । गत मार्च महिनामा पनि ०।३ प्रतिशतले अर्थतन्त्र खुम्चिएको थियो । प्राविधिक रुपमा लगातार दुई महिना अर्थतन्त्र खुम्चिए मन्दी आएको मानिन्छ । 

अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परेको बताए । उनले २८ वर्षदेखि लगातार हुँदै आएको आर्थिक वृद्धि यसपटक कोरोना भाइरसका कारण पहिलोपटक रोकिएको छ भने । 

प्रधानमन्त्री स्कट मरिसनले पनि संसदमा सम्बोधन गर्दै अस्ट्रेलियाका लागि यो निकै संकटपूर्ण अवस्था आइलागेको बताए । आर्थिक सहयोग तथा विकास संगठनले जुन महिनामा संगठनमा आबद्ध मुलुकहरुको अर्थतन्त्र अप्रिल–जुन महिनाको अवधिमा ९.८ प्रतिशतको हाराहारीमा खुम्चिने पूर्वानुमान गरेको थियो । संगठनले बेलायतको अर्थतन्त्र २० प्रतिशत, फ्रान्सको १४ प्रतिशत तथा संयुक्तराज्य अमेरिकाको ९.१ प्रतिशतले गिरावट आउने जनाएको छ । रासस–एपी

प्रतिक्रिया दिनुहोस