aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नयाँ मोडालिटीमा सात दिन थपियो निषेधाज्ञा (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
नयाँ मोडालिटीमा सात दिन थपियो निषेधाज्ञा (सूचनासहित)

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको हो । 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निर्णय गरेको तीनै जिल्लाका प्रजिअबाट जारी भएको सूचनामा उल्लेख गरिएको छ। 

निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ। बिहान ११ बजेसम्म किनमेल र हिडडुलका लागि खुकुलो गरिएको छ। बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ। तर  होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गरिनेछ। उपत्यका नगरपालिका फोरमले थप एक हप्ता निषेधाज्ञा गर्नुपर्ने सुझाव तीनै सिडिओलाई दिएको थियो। 

निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे गृह मन्‍त्रालयमा छलफल गरिएको हो। नेपाल उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवालासँग परामर्श गरेर निषेधाज्ञाको मोडालिटी थोरै परिवर्तन गरिएको हो। मंगलबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठक भएको थियो। 

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले  भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए। भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। 

 

 

प्रतिक्रिया दिनुहोस