
डा. युवराज खतिवडा राष्ट्रियसभामा वामदेव गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने नेकपा सचिवालयको बैठकको निर्णयसँगै नयाँ प्रश्न उब्जिएको छ । त्यो हो, अब कता जान्छन् युवराज ?
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नुपर्ने कोटा अन्तर्गतको राष्ट्रिय सभा सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतम पठाउने निर्णय पहिले नै गरिसकेको थियो । सो निर्णय कार्यान्वयनका लागि बिहीबार बस्ने सचिवालय बैठकले प्रधानमन्त्रीलाई निर्देश गर्दै छ भन्ने अनुमानसँगै उठेको प्रश्न हो यो ।
बिहीबार बिहानै देखि नेपाली राजनीतिक रङ्गमञ्चमा चर्चा शुरु भइसकेको थियो—अब डा. युवराज खतिवडा अमेरिकाको लागि नेपाली राजदूत बन्दै छन् । हुन पनि सो चर्चा हुनुमा केही खास कारणहरू थिए ।
पहिलो कारण हो, बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र वामदेव गौतमबिच भएको भनिएको संवाद । बालुवाटार निकट नेकपा उच्च श्रोतले बताएअनुसार त्यसै बेला केपी ओलीले वामदेवलाई ‘ढुक्क हुनुहोस् कमरेड, तपाई नै राष्ट्रिय सभामा जानु हुन्छ । युवराजले भैगो पार्टी नेताहरूको असहमतिबिच म निरन्तरता दिन्न भने’ भन्दै आश्वस्त पारेका थिए ।
प्रधानमन्त्रीको त्यस्तो सन्देश पाएपछि एक क्षण पनि मनमा कुरा राख्न नसक्ने वामदेवले सो कुरा छताछुल्ल पारिहाले । जसका कारण तुरुन्तै प्रधानमन्त्रीका यति प्रिय पात्र खतिवडाको अब कसरी व्यवस्थापन गर्लान् भन्ने अनुमान र अड्कलबाजी शुरु भयो ।
दोस्रो कारण के हो भने यदि अब पनि प्रधानमन्त्रीले पार्टी निर्णय विपरीत युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा पठाउन खोजे भने त्यसले ठुलै दुर्घटना निम्त्याउँछ भन्ने सबैले गरेको सहज अनुमान हो । त्यसो हुँदा अर्थ मन्त्रालयबाट निस्किएर डा. खतिवडा कता जालान् भन्ने प्रश्न स्वभाविकरुपमा किन पनि उठ्यो भने उनले पार्टीको काम गर्न कुनै भूगोल छैन । न त अघि पछि हिँड्ने कार्यकर्ता नै छन् । त्यसैले उनलाई सुहाउने भनेको अब राजदूत बाहेक अर्को पद छैन । फेरि उनको राम्रो सम्बन्ध भएको मुलुक अमेरिकामा नै अर्जुन कार्कीलाई म्याद थपेर राखिराखेको अवस्था छ । त्यसो हुँदा त्यही ठाउँमा उनलाई पठाउनु स्वयम् अर्थमन्त्रीका लागि मात्र होइन प्रधानमन्त्रीलाईसमेत हित हुने देखिन्छ ।
त्यसैले डा. खतिवडा अब अमेरिकाको राजदूत नियुक्त हुने प्रतीक्षामा बस्ने छन् भन्ने अनुमान हावादारी ठहर्दैन । त्यसो त कतिपयले कुनै हालतमा पुनर् नियुक्ति हुन नसक्ने भएपछि खतिवडाले नै नमानेको भनेर लाज ढाक्ने काम मात्रै भएको हो, पाए उनले जस्तोसुकै अवस्थामा समेत अर्थ मन्त्रालय छोड्ने थिएनन् भन्दै टिप्पणी समेत भइरहेको छ ।
अर्थ मन्त्रालय श्रोतका अनुसार शनिवारसम्म अर्थ मन्त्रालयसम्म बस्ने म्याद भए पनि खतिवडाले शुक्रवार नै प्रधानमन्त्रीलाई पेस गर्नेगरि राजीनामाको ड्राफ्ट तयार पारिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस