aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

दृष्टिविहीनलाई प्रयोगमैत्री भएन अनलाइन शेयर कारोबार

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, १९ भदौ २०७७
दृष्टिविहीनलाई प्रयोगमैत्री भएन अनलाइन शेयर कारोबार

काठमाडौं । शेयर बजारमा अनलाइन कारोबार बढिरहे पनि लगानी गर्न चाहने दृष्टिविहीनहरूले यो पहुँचयोग्य नभएको गुनासो गरेका छन् । सरकारले शेयर बजारको दीर्घकालीन विकास गर्न प्रोत्साहनमूलक नीति तथा कार्यक्रमअन्तर्गत ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली मैत्रीपूर्ण नहुँदा समस्या भएको छ ।

०७७ असारमा अजोड इन्स्योरेन्सले जारी गरेको साधारण सेयर (आईपीओ) खरिदका लागि सिन्धुपाल्चोकका सुमित लामा अनलाइन आवेदन दिन ‘मेरो सेयर’ एपमा गए । तर आँखा नदेख्ने भएकाले सुरुमै चयन गर्नुपर्ने ‘डिपोजटरी पार्टिसिपेन्ट’ चुन्नै सकेनन् । उनले प्रयोग गरिरहेको ‘स्क्रिन रिडर सफ्टवेयर’ले पनि ‘डिपोजटरी पार्टिसिपेन्ट’ रिड नगरेपछि आईपीओ भर्ने प्रक्रिया अघि बढेन । साथीको सहयोगबाट मात्र आईपीओमा आवेदन दिए । हालसम्म उनले चारवटा आईपीओमा आवेदन दिँदा चारै पटक साथीको सहयोग लिनुपर्‍यो ।

बुटवलका सेयर लगानीकर्ता किशोर आचार्यले पनि यस्तै समस्या भोग्नुपर्‍यो । उनी पनि दृष्टिविहीन हुन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ब्रोकर खाता लगइन गर्ने क्रममा स्क्रिन रिडरले ‘क्याप्चा’ रिड नगरेपछि साथीकै सहयोग लिनुपर्‍यो । प्रयोगकर्ता मानिस हो या रोबोट हो भनी थाहा पाउन क्याप्चा राखिएको हुन्छ । प्रत्येक पटक ‘युजर पासवर्ड’ हान्नुपर्छ । क्याप्चा पनि प्रत्येक चोटि नै नयाँ आउँछ । युजर पासवर्ड सेभ गरेर राख्न सकिन्छ तर सुरक्षित हुँदैन । सुरक्षा सतर्कताकै कारण स्क्रिन रिडरले पढ्न नमिल्ने गरी यसलाई बन्द गरिएको हुन्छ । यसले गर्दा किशोर जस्ता दृष्टिविहीनलाई समस्या हुने गरेको छ ।

विशेषगरी दृष्टिविहीनहरूलाई अक्षर पढ्न सजिलोका लागि स्क्रिन रिडर सफ्टवेयर प्रयोग हुन्छ । यसले स्क्रिनमा देखिएको अक्षर पढ्ने काम गर्छ । तर चित्र र संकेत पढ्दैन । सेयर बजारको अनलाइन कारोबारमा पनि कतिपय प्रक्रिया संकेतका आधारमा अघि बढ्छ । चित्र र संकेत मात्रै होइन कतिपय अक्षरसमेत स्क्रिन रिडर सफ्टवेयरले पढ्न नमिल्ने गरी राखिने भएकाले समस्या भएको सूचना प्रविधि विशेषज्ञ सुगम भट्टराईले बताए ।

‘दृष्टिविहीनहरूले मोबाइल, ल्यापटप अथवा कम्प्युटरमा स्क्रिन रिडर सफ्टवेयर चलाउने हो, जति पनि वेब ब्राउजर हुन्छन्, वेब सामग्री पहुँच मार्गदर्शनअनुरूप नबनाइँदा यस्तो समस्या भोग्नुपरिरहेको छ,’ उनले भने, ‘सेयर मार्केटको अनलाइन कारोबारको समस्या पनि यही हो, सेतो छडी लिएर हिँडेको मान्छेले पनि चलाउँछ है भन्ने कुरामा वेब डिजाइनर, इन्जिनिरहरूले ध्यानै दिँदैनन् ।’

वेब प्रोग्रामलाई चिटिक्क बनाउने क्रममा पनि ‘वेब कन्टेन्ट’हरूमा छुटफुट हुने गर्छन् । तर ससाना त्रुटिहरूकै कारण सफ्वेयरले पढ्न सक्दैन । दृष्टिविहीनहरूको पहुँचमा पुग्दैन ।

दोस्रो बजारको दायरा फराकिलो बनाउने उद्देश्यले ०७५ कात्तिक २० देखि कारोबारमा पूर्ण स्वचालित अनलाइन प्रणाली लागू गरिएको छ । आईपीओ भने यसअघि नै अनलाइनबाट भर्न सकिने व्यवस्था थियो । घरमै बसेर अनलाइन कारोबार गर्न सकिने भए पनि अपांगता भएकाहरूलाई फाइदा पुग्ने किसिमको छैन । ‘हिजो बैंकमै लाइन बसिन्थ्यो, ब्रोकरलाई फोनबाटै गरिन्थ्यो, अनलाइन सिस्टम बढी प्रयोगमा आउन थालेपछि ब्रोकरले पनि अनलाइनबाटै आइज भन्छ तर अनलाइन सिस्टम मैत्रीपूर्ण नहुँदा गाह्रो छ,’ नेत्रहीन संघ ललितपुरका अध्यक्ष पर्वतराज विष्टले भने । नेप्सेले आफ्नो वेबसाइटको सुरक्षा सतर्कताअनुरूप बनाउन खोज्दा र दृष्टिविहीनहरूलाई प्रयोगकर्ता समूहमा नराख्दा आफूहरू पहुँचविहीन बन्न पुगेको उनको गुनासो छ ।

सधैं अरूकै सहायता लिनुपर्दा आफ्नो कारोबार गोपनीय नहुने र विश्वसनीय नहुने दृष्टिविहीन सागर लामा बताउँछन् । ‘सफ्टवेयरले नबोलेपछि अरूको सहायता लिनुको विकल्प भएन, सहयोग माग्दा गोपनीयता कहाँबाट हुनु ?,’ उनले भने । लकडाउनले गर्दा गुजारा गर्ने अन्य माध्यम नभएकाले सेयर बजारमा दृष्टिविहीनहरूको सहभागिता बढेको छ । दैनिक ११ देखि ३ बजेसम्म पर्वतराजलगायत ४५/५० जनाको ग्रुपले मेसेन्जरमा सेयरिङ गर्दै सेयर कारोबार गर्छन् । ‘नेप्सेको वेबसाइट मैत्रीपूर्ण भएको भए आफ्नो कारोबारका लागि सधैं सहयोगी गुहार्नु पर्दैनथ्यो,’ उनीहरूको एक स्वर छ, ‘आफूअनुकूल काम गर्न सकिन्थ्यो ।’

दृष्टिसम्बन्धी अपांग निरक्षरहरूको ल्याप्चेकै आधारमा बैंकहरूले डिम्याट खाता खोलिदिने गर्छन् । तर साक्षरहरूका सन्दर्भमा अनिवार्य हस्ताक्षर खोज्छन् । ‘दृष्टिसम्बन्धी अपांग साक्षरहरू ब्रेललिपिका सहायताले पढ्छन्, लेखन सहयोगीको सहयोगमा परीक्षामा लेख्छन्,’ नेत्रहीन संघ ललितपुर अध्यक्ष बिष्ट भन्छन्, ‘उनीहरू जतिसुकै शिक्षित भए पनि ल्याप्चे हानेर बैंकले डिम्याट खाता खोलिदिँदैन, ल्याप्चेकै आधारमा खोलिदिए पनि विवरणमा निरक्षर राखिदिन्छन्, यसले त बल्लतल्ल साक्षर भएकालाई पनि निरुत्साहित गर्छ ।’

दृष्टिविहीनलगायत अपांगता भएकाहरूले सेयर बजारलाई रोजगारीको राम्रो अवसरका रूपमा लिने गर्छन् । ‘एउटा दृष्टिविहीन कमाइका लागि सधैं राष्ट्रिय नाचघर आउन सक्दैन, उसलाई सेयर बजारमा अनलाइन कारोबार पहुँचयोग्य बनाउने हो भने घरमै बसेर दिनमा दुई/तीन हजार रुपैयाँ कमाएर गुजारा गर्ने वातावरण बन्थ्यो,’ दृष्टिविहीन सेयर लगानीकर्ता कुश न्यौपानेले भने ।

यता धितोपत्र बोर्डकी उपकार्यकारी निर्देशक तथा सूचना अधिकारी दीपा दाहाल भने बोर्डले आर्थिक वर्ष ०७४/७५ मै नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर राख्न भनिसकेको बताउँछिन् । अपांगमैत्री हुनुपर्ने विषय पनि त्यसैभित्र पर्ने उनको भनाइ छ । दिइएको निर्देशन कार्यान्वयन र नेप्सेका गतिविधिलाई नियमित अनुगमन गरिरहेको उनले बताइन् । दृष्टिविहीनमैत्री विषय आफ्ना लागि नयाँ भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । ‘यसअघि यस्तो विषय उठेकै थिएन, एकदमै नयाँ कुरा आएको छ,’ उनले भने, ‘यसमा धितोपत्र बोर्डले पनि विशिष्टीकृत रूपमा निर्देशन दिनुपर्छ । अन्तर्राष्ट्रिय अभ्यास के छ, सेयर बजारमा यसको उपयोग हुन्छ, हुँदैन, अध्ययन गरेर कार्यान्वयन गर्न भने सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस