
चीन र अमेरिकाबिच बढेको तनावका कारण चीनले केही महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन गर्न थालेको छ । चीनले आफूसँग मौज्दात रहेको अमेरिकी ट्रेजरी सेक्युरिटी कम गरेको देखिएको छ ।
अमेरिका र चीनबिच व्यापार, प्रविधि, भाइरस, शीतयुद्ध एकैसाथ जारी छ । लगभग ४ वर्ष यता सम्बन्ध चिसिएपछि चीनमा रहेको एक ट्रिलियन भन्दा बढीको अमेरिकाको ट्रेजरी सेक्युरिटी उल्लेख्यरुपमा घटेको देखिएको छ । अहिले सन् २०१३ मा सर्वाधिक उचाइमा पुगेको यस्तो मौज्दात ८ वर्ष यताकै तल्लो विन्दुमा आइपुगेको चीन सरकार नियन्त्रित ग्लोबल टाइम्सले जनाएको छ ।
चीन सरकार निकट विज्ञको हवला दिँदै ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनले क्रमशः अमेरिकी ट्रेजरी बोण्डको आफूसँग रहेको होल्डिङलाई घटाउँदै ८ सय बिलियन डलरमा झारेको छ । ट्रम्प प्रशासनले लगाताररुपमा चीनमाथि गरेको आक्रमण र अमेरिकी फेडेरलमा बढेको घाटाका कारण चीनले यस्तो नीति लिएको हो ।’
हुन त चीन अमेरिका बिचको व्यापार युद्धका कारण अमेरिका नराम्रोगरि नोक्सानमा परेको यसअघि नै देखिसकेको छ । अमेरिकाको बजेट घाटा ३.३ ट्रिलियन डलरको नयाँ रेकर्डमा छ । त्यसैगरि, अमेरिकाको जिडिपी ऋणको अनुपात १०७ प्रतिशतको नयाँ रेकर्डमा छ ।
चालू वर्षको पहिलो ६ महिनामा मात्रै पनि विश्वको दोस्रो ठुलो अर्थतन्त्रको रूपमा रहेको चीनले १०६ बिलियन डलर बराबरीको अमेरिकी ट्रेजरी बण्ड घटाइसकेको छ । यो क्रम अझैसम्म जारी नै छ ।
चीनले यसो गर्नुमा प्रमुख कारण चाहिँ अमेरिकाको बढ्दो ऋण र खस्कँदो अर्थतन्त्र नै हो । यही कुरालाई मध्यनजर गर्दै चीनले आफूसँग रहेको अमेरिकी ट्रेजरीलाई ८ सय बिलियन डलरमा झार्ने निर्णय गरेको सांङ्घाइ विश्वविद्यालयका प्रोफेसर सी जुनयाङ जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस