aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

उधारोमै आइसोलेसन भवन

  • रासस
    रासस
  • शुक्रबार, १९ भदौ २०७७
उधारोमै आइसोलेसन भवन

काठमाडौं । कोभिड– १९ सङ्क्रमणका बिरामी बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ ।

सरकारी बजेट निकासा प्रक्रिया ढिलो र झण्झटिलो भएपछि शोधभर्ना गर्ने गरी निर्माण सामग्री उधारोमा जुटाएर आइसोलेसन भवन निर्माण गरिएको प्रदेश–३ का प्रदेशसभा सदस्य राजन दाहालले जानकारी दिए । 

ठेक्का प्राणालीबाट काम गर्दा बढी खर्चिलो र समयमा सम्पन्न नहुने भएपछि उपभोक्ता समितिमार्फत जनश्रमदान र सहयोग सङ्कलन गरी उक्त आइसोलेसनको निर्माण गरिएको उनले बताए । ठेक्का प्रणालीबाट उक्त भवन निर्माणका लागि रु तीन करोड ३६ लाख प्रारम्भिक लागत अनुमान निकालिएको थियो । वरिपरी सालघारी र स्वस्थ हावापानी क्षेत्र छनोट गरी निर्माण शुरु गरिएको ५० श्यया क्षमताको उक्त  आइसोलेसन भवन अबको १० दिनभित्र तयार हुने जनाइएको छ ।  

निर्माण कार्यले केही दिनमै उल्लेख्य प्रगति हासिल गरेको र यसरी निर्माण गर्दा वास्तविक लागत समेत थाहा हुने नेकपा जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले बताउनुभयो । एउटा २६ र अर्काे दुई श्यया क्षमताका ती दुवै भवनको पर्खालको काम पूरा भइसकेको छ  भने अब छाना, रङरोगन र कम्पाउण्ड निर्माण बाँकी रहेको बताइएको छ । उक्त भवन निर्माणमा स्थानीय संस्था र समितिले दैनिक सयौँको सङ्ख्यामा जनशक्ति परिचालन गरेका छन् । गुरुयोजना अनुरुपनै निर्माण कार्यअघि बढेकाले भवन तयार भएसँगै कोरोनाका बिरामीले त्यहाँबाट सबै उपचार सेवा पाउने छन् ।

उक्त आइसोलेसनका  लागि प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले रु ९७ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने  जिल्लाका दुई नगरपाकिलासहितका नौ वटै स्थानीय तहबाट पनि केही न केही सक्दो सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।
 
निर्माणाधीन उक्त आइसोलेसन भवनका लागि काठमाडाैंको ॐ अस्पताल र भक्तपुर उद्योग वाणिज्य सङ्घबाट रु दुईदुई लाख  सहयोग प्राप्त भइसकेको छ । उक्त भवन निर्माणका लागि केही सामाजिक सङ्घ संस्था र व्यक्तिले पनि सहयोग गरेका र आइसोलेसन तयार भएपछि जिल्लाका मात्र नभइ त्यस भेगका कोरोना सङ्क्रमितले उपचारका लागि अन्यन्त्र धाउनुनपर्ने सांसद गणेश पहाडीले बताए । 

सिन्धुलीमा एक सय  बढी नागरिकलाई कोरोना सङ्क्रमण देखिएकोमा धेरैजसो निको भएर घर फर्किसकेका छन् । जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन सञ्चालनमा छन् । उक्त जिल्लामा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट कसैको ज्यान गएको तथ्याङ्क छैन । 

आइसोलेसन भवनको काम शुरु भएसँगै सङ्क्रमण फैलियो भने कहाँ गएर कसरी उपचार पाइएला भन्ने अन्योलमा परेका स्थानीयवासीको मनोबल बढेको गोलञ्जोर गाउँपालिका–१ का गणेश पहरी बताउनुहुन्छ । प्रदेशसभा सदस्य  दाहाल भन्छन्, “ स्थानीयवासीलाई आइसोलेसन सेन्टर बनेपछि उत्साह बढेको छ, स्वच्छ वातावरण र वरिपरी हरियाली प्रकृतिभित्र बनाएको आइसोलेसन मुलुककै नमूना हुने छ ।”

प्रतिक्रिया दिनुहोस