aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

  • रासस
    रासस
  • शुक्रबार, १९ भदौ २०७७
थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो । 

होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो । मिर्गाैलाले काम नगरेपछि चितवनमा डायलायसिस गरेर फर्किएका उनको  बिहान मृत्यु भएको बताइएको छ । 

यस्तै बुटवल उपमहानगरपालिका– १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर – ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । 

यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । 

उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि बिहान बुटवल उपमहानगरपालिका – ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुर्घटनामा निधन
रुपन्देही जिल्लाको गैडहवामा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । गैडहगवा गाउँपालिका वडा नं ५ तेलण्डियास्थित लुम्बिनी –कलौनी सडकखण्डमा लु १४ प ७९४४ नंको मोटरसाइकल आज आफैँ अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा चालक रूपन्देही जिल्ला, शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय समुजराम केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते  केवटको उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा हात र खुट्टामा सामान्य चोट लागेका मोटरसाइकलमा सवार ३५ वर्षीय गुडिया केवटको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस