aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० भदौ २०७७
खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ ।
 
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शुक्रबार एक सूचना प्रकाशित गरी तोकिएका सेवाबाहेक सञ्चालन नगर्न आग्रह गरेको छ । सूचनामा अत्यावश्यकीय वस्तुका अतिरिक्त निर्माण सामग्री, बिजुली, भाँडाकुँडा र कपडा पसललाई समेत सञ्चालन गर्न दिइने उल्लेख छ । ती पसलहरु बिहान १० देखि साँझ ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।
 
जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । जिल्लामा पहिलोपटक गत साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसलगत्तै पूर्वी चितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिकामा समेत निषेधाज्ञा जारी गरिएको थियो । 

पछिल्लोपटक माडी नगरपालिकासमेत जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या भने दिनहुँ बढ्दै गएको छ । 

कास्कीमा निषेधाज्ञा एक हप्ता थप
कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी  स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यस अघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै थियो ।
    
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गर्नुभएको आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । मानिसले बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ः०० बजे देखि साँझ ८ः०० बजे सम्म सञ्चालन गर्न सकिने जनाएको छ । शैक्षिक लगायतका सार्वजनिक भेला र भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ भने तोकिएको मापदण्डमा कार्यालय सञ्चालन गर्नुपर्नेछ । 

कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योग सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ । आंशिक रुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्य बस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७.०० बजेसम्म सञ्चालन गर्न अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस