काठमाडौं । आज (आइतबार) दिउँसो ३ बजे बुंगद्यः (रातो मछिन्द्रनाथ)को रथयात्रा हुने भएको छ। रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो ।
जात्रा व्यवस्थापन कार्यदलका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न रथ तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । त्यसपछि ललितपुरवासीले आज ‘छ्वयलाभू’ र सोमबार ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइनेछ । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।
बिहीबार पुल्चोकबाट रातो मछिन्द्रनाथको रथ तानेर करिब ५ मिटर टाढा पुर्याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यसयता रथ सडकको बीचबाटैमा छ। झडपपछि सरोकारवाला निकाय र गुठी खलः हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो। कोरोना महामारीका कारण रथयात्रा सम्पन्न गर्न नसकेको भन्दै शुक्रवार रातो मछिन्द्रनाथको क्षमा पूजा गरिएको थियो।
बिहीबारको घटनापछि हाल ललितपुर जिल्ला प्रशासनले रातो मछिन्द्रनाथ र मीननाथ रहेको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।
प्रतिक्रिया दिनुहोस